सप्तरी, २१ चैत । प्रदेश २ मा १४ र १५ चैतको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र दुई नं. प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा संयुक्त पत्रकार सम्मेलन गरेर आरोपित दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्ने प्रहरी अधिकारीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत् थिए ।
पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन् ।
प्रहरीका अनुसार १५ गतेको विज्ञान र १४ गतेको सामाजिक विषयको प्रश्नपत्र ब्रम्हदेव सुनरैतमार्फत चुहिएको थियो । उनले प्रश्नपत्र राखिएको स्थानबाट निकालेर फोटो खिची दाइ विष्णदेव यादवलाई पठाएका थिए । यादवले पहिले सामाजिक सञ्जालमार्फत प्रश्नपत्रको फोटो पठाएका थिए । र, मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो । प्रश्नपत्र लेनदेनका क्रममा हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म लेनदेन भएको देखिएको प्रहरीको भनाइ छ ।
त्यसक्रममा एक जनाले सामाजिक सञ्जालमा प्रश्नपत्र अपलोड गरेपछि यो प्रकरण सार्वजनिक भएको थियो । उनीहरुबाट बरामद मोबाइलको प्राविधिक विश्लेषण भइरहेको प्रहरीको भनाइ छ ।
लगातार दुई वटा विषयको प्रश्नपत्र परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक भएपछि शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले पनि चासो देखाएका थिए । उनले १५ चैतमा साँझ पत्रकार सम्मेलन गरेर परीक्षा स्थगित भएको घोषणा गरेका थिए ।
त्यसवेलै उनले घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आग्रह गरेका थिए । त्यसपछ ब्युरोले डीएसपी निरञ्जन भट्टको नेतृत्वका अनुसन्धान टोली खटाएको थियो भने परीक्षा नियन्त्रण कार्यालयले पनि परीक्षा बोर्डकी सदस्य प्राध्यापक अमुदा श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
स्थागित परीक्षा शुक्रबारदेखि सुरु हुँदैछ ।