प्रदेश सरकार समेत लगानीमैत्री बन्नुपर्ने ब्यवसायीकाे जाेड, मुख्यमन्त्री वृहत्तर विराटनगरको अवधारणामा

प्रदेश सरकार समेत लगानीमैत्री बन्नुपर्ने ब्यवसायीकाे जाेड,  मुख्यमन्त्री वृहत्तर विराटनगरको अवधारणामा

विराटनगर, २२ चैत । महासंघ प्रदेश १ को शुक्रबार विराटनगरमा सम्पन्न दोस्रो साधारणसभा उद्घाटन कार्यक्रमका वक्ताले प्रदेश सरकारसमेत लगानीमैत्री बन्नुपर्नेमा जोड दिएका छन् ।

महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले प्रदेशको अवधारणामा महासंघ पनि गइसेको भन्दै निजी क्षेत्रलाई साथ लिएर अघि बढ्नुपर्ने बताए । अब स्थिर र दह्रो सरकार आएकोले लगानी गर्न सकिन्छ भन्ने अपेक्षा अनि विश्वास उद्योगी व्यवसायीमा बढेको बताए।  ढकालले मुलुकको समृद्धिमा निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण भएको चर्चा गरे ।

महासंघका उपाध्यक्ष किशोर प्रधानले प्रदेश सरकारसँग सहकार्य गर्नका लागि महासंघले सातै प्रदेशका मुख्यमन्त्री समक्ष विकास अवधारणा पेश गर्ने तयारी गरिरहेको बताए ।
प्रतिनिधिसभाका सांसद तथा विराटनगरका उद्योगी मोती दुगडले प्रदेश १ सबैभन्दा धनी प्रदेश बन्ने सम्भावना रहेको चर्चा गर्दै उपयुक्त कानुन निर्माण गरेर लगानीको वातावरण सिर्जना गरिनुपर्ने बताए । महासंघका प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रको साथ लिएर सरकार अघि बढेमात्र आर्थिक समुन्नति सम्भव हुनेमा जोड दिए ।

मुलुक संघीयतामा गएसँगै अब विकास विकेन्द्रीत भएको र महासंघ पनि सरकारको सहयोगीको रुपमा अघि बढेको प्रदेश अध्यक्ष नरेन्द्र कुमार खड्काले बताउनु भयो । साधारण सभामा भाग लिन प्रदेशभरिका वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरु विराटनगरमा भेला भएका थिए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको समग्र विकासका लागि योजनागत र व्यवस्थित कार्यक्रम लिएर आउने तयारीमा रहेको बताए । मुख्यमन्त्री राईले विकासको मोडल तयार भएको बताउँदै भने, ‘‘प्रदेश सरकारले वृहत्तर विराट विकासको अवधारणा अघि सारेको छ । नयाँ सहरलाई समेत प्राथमिकता दिइने छ ।’’ मुख्यमन्त्री राईले अहिले प्रदेश सरकार के गर्दैछ भनेर सबैतिर ठूलो जिज्ञासा रहेको भन्दै विकासबारे अहिल्यै बोल्ने बेला नभएको स्पष्ट गरे ।  मुख्यमन्त्री राईले सरकारले आवधिक योजना बनाईरहेको र लगानी सम्मेलन गरेर प्रदेश विकासको ठोस अवधारणा अघि सार्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्