विराटनगर, २४ चैत ।
ड्रिम्स मिडिया एण्ड इन्टरटेनमेन्टको आयोजनामा विराटनगरमा हुन लागेको ‘मिस एसईई मोरङ २०१९’ को पहिलो अडिसन चैत २९ गते हुने भएको छ । विराटनगरको बिग होटलमा पहिलो अडिसन हुने भएको हो ।
यस वर्षको एसइइ परीक्षा दिएर बसेका किशोरीहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागेको ड्रिम्स मिडिया एण्ड इन्टरटेनमेन्टका इभेन्ट संचालक सुशिल घिमिरेले जानकारी दिए । ‘बौद्धिकता सहितको सौन्दर्य’ मुल नाराको साथ हुन लागेको प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।साथै ज्योति लाइफ इन्स्योरेन्सले ५ लाख मुल्य बरावरको जीवन बिमा गरिदिने छ । प्रतियोगिताको फस्ट रनरअपले २० हजार र ४ लाख ५० हजारको जीवन विमा र सेकेण्ड रनरअपले १५ हजार सहित ३ लाखको जीवन विमा हुने इभेन्ट संचालक अर्जुन श्रेष्ठले जानकारी र्दिए ।
प्रतियोगिताको विजेता, फस्ट रनरअप र सेकेण्ड रनरअप हुनेलाई विराटनगरको शिक्षादीप कलेजले छात्रवृति प्रदान गर्ने श्रेष्ठले बताए । मोरङमा एसइइ दिएका छात्रा विद्यार्थीहरूलाई सहभागी गराउने गरी अडिसन गर्न लागेको आयोजकको भनाई छ । आयोजकले मोरङको उर्लाबारी, बेलवारी र रंगेलीमा समेत अडिसन गर्ने तयारी गरेको छ ।
फाइनलमा ३० जना प्रतियोगि छनौट गरिने भएको छ । फाइनल जेठको पहिलो साता हुने बताइएको छ । प्रतियोगिको कोरियोग्राफर मिस नेपालको फाइनलिस्ट अनुपमा बास्तोलाले गर्ने भएकी छिन् । फाइनलमा छनौट भएका किशोरीहरूलाई २२ दिनको प्रशिक्षण दिईने छ् ।