शून्य समयमा सांसदका जिज्ञासा : ‘सदनमा उठेका विषय सरकारले कार्यान्वयन किन गरेन ?’

शून्य समयमा सांसदका जिज्ञासा : ‘सदनमा उठेका विषय सरकारले कार्यान्वयन किन गरेन ?’

विराटनगर, २७ चैत ।  प्रदेश सभामा शून्य समयमा उठाइएका विषय कार्यान्वयन नभएको प्रति सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको शून्य समयमा बोल्ने सांसदले सदनमा उठेका विषयहरु कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

मोरङका सांसद कूलप्रसाद साम्बाले शून्य समयमा पटक–पटक उठाइएका विषयहरु कार्यान्वयनमा नगएको बताएका हुन् । आम नागरिकमा जनतामा गलत सन्देश गइरहेको बताउँदै सांसद साम्बाले प्रश्न गरे, 'सदनमा उठेका विषयहरु अनुगमन गर्ने कि नगर्ने ?' सदनमा विषयहरु प्रशस्तै उठेको भएपनि सरकारले जवाफ दिने मात्र काम गरेको छ,' सांसद साम्बाले भने, ‘उठेका सवालको व्यवहारबाट समस्याको समाधान खोजिनु पर्छ ।’

शून्य समय बोल्दै आफ्नो क्षेत्रमा क्रसरले आतंक मच्चाएको बताए । अहिले पनि उर्लावारी नगरपालिकाको वडा नम्बर १ मा मात्र ५ वटा क्रसर उद्योग संचालमा रहेको बताउँदै २ वटा उद्योग चालू अवस्थामा र अन्य उद्योगहरु संचालनको तयारीमा हुनुले वडाअध्यक्ष, नगरपालिका तथा स्थानीय निकायबीचमा विवाद शुरू भएको सदनलाई जानकारी गराए ।

बस्ती, स्कुल तथा मन्दिरमा नै क्रसर संचालन हुनु भनेको नीति र ऐन विपरितको काम भएको उनको आरोप छ । यी विषयहरु यसअघि पनि पटक-पटक उठान भइरहेको भएपनि प्रदेश सरकारले ध्यान नदिएको सुनाए ।

झापाका संसद ओमप्रकाश सराबगीले अहिलेपनि सदनमा उठेका कुरा कार्यान्वायन भए नभएपनि सरकारले गर्नुपर्ने कामहरु प्रशस्तै रहेको बताए । उनले निर्वाचन सम्पन्न भएपछि पहिलादेखि नै शुरू भएको विकासका कामहरु निर्वाचन पछि रोकिएकोमा चिन्ता व्यक्त गरे ।

उनले कचना कवलमा निर्माण शुरू भएको काम बजेट नियमित नआउँदा ठेकेदार हात बाँधेर बसेको बताए । पुल, सडक, खानेपानी लगायतका काम रोकिएको उनको भनाइ छ । ‘बहुवर्षीय योजनाका लागि पहिला स्वीकृत भएका कार्यक्रमहरु अहिले रोकिएको छ,' उनले भने, 'यसलाई निरन्तरताको लागि प्रदेश सरकारको पनि ध्यान जाओस् के कारणले भईरहेको काम रोकिएको हो ?’

धनकुटाका सांसद निरन राईले विराटनगर–किमाथांका सडकलाई धरानसम्म बनाउन डीपीआर बनाएर काम अघि बढिरहेको अवस्थामा धरानदेखि किमाथांकासम्मको सडकको लागि डीपीआर नै नगरेको बताए । उनले धनकुटा नगरपालिकाई बाईपास गरेर सडक बनाउन लागेको भन्ने जानकारीमा आएकोले त्यसो नगर्न सुझाए ।

आर्थिक उन्नतिका लागि चीनदेखि भारतसम्म जोड्ने यो सडकले राम्रो आर्थिक उपार्जन गर्न सकिने राईको भनाइ छ । संघीय समाजवादी फोरमका संसदीय दलका नेता सांसद जयराम यादवले संविधान अनुसार सरकारले नागरिकता दिन खोलेको बाटो सर्वोच्चले रोकेकोमा असन्तुष्टि जनाए । उनले तत्काल जन्मका आधारमा नागरिकता पुन वितरण गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

सांसद कृष्णकुमारी राईले भूमिहीनलाई दिइने भनिएको जग्गाधनी पूर्जाको विषयमा अहिलेसम्म प्रदेश सरकारले ध्यान नै नदिएको आरोप लगाइन् । उनले तत्काल कानून बनाएर सुकुम्बासी व्यवस्थानका लागि ध्यान दिन आग्रह गरिन् । सांसद विनादेवी राईले जेष्ठ नागरिकले पाउने यातायात र स्वास्थ्य सेवाको ५० प्रतिशत छुट नपाएको आरोप लगाइन् । त्यस्तै सांसद बिमल कार्कीले मानव सभ्यताको इतिहास बोकेको उदयपुरको चौदण्डीगढी र त्रियुगा नगरपालिकाको सभ्यता र अनुसन्धानको खोजी गर्न आग्रह गरे । प्रस्तुति : सुमन सुस्केरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्