काठमाडौँ – सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुईजना घाइते छन् । दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पतालमा ल्याइपुर्याउँदा ज्यान गएको हो ।
दुर्घटनामा विमानका सहचालक शेरा ढुंगाना र प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का तथा रुद्रबहादुर श्रेष्ठको ज्यान गएको हो । ढुंगाना र खड्काको घटनास्थलमै ज्यान गएको हो । श्रेष्ठको भने उद्धार गरि उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पतालमा ल्याएपछि ज्यान गएको हो । घाइते दुईजनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते भएका तीनजनालाई हेलिकप्टर मार्फत उद्धार गरि उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पताल ल्याएकोमा प्रहरी रुद्रबहादुर श्रेष्ठको निधन भएको अस्पतालले जनाएको छ । चेतबहादुर गुरुङ र शरद खड्काको उपचार भइरहेको ग्राण्डी अस्पतालले जनाएको छ ।
समिट एयरको विमान उडान भर्ने क्रममा मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको हो । आइतबार बिहान समिट एयरको ९ एन–एएमएच विमान मनाङ्ग एयरको हेलिकप्टर ९ एन–एएलसीसँग ठोक्किएको हो । उडान भर्ने क्रममा विमान हेलिकप्टरसँग ठोक्किएपछि आगो लागेको थियो । विमान धावन मार्गमा चिप्लिएर हेलिकप्टरमा ठोक्किन पुगेको हो । दुर्घटनाको यकिन कारण भने खुलेको छैन ।(देशसंचार)