विराटनगर, १ बैशाख ।
बबरसिंह थापा सेवागुठीले दुईजना अग्रज साहित्यकारलाई सम्मान गरेको छ । बबरसिंह थापा सेवा गुठीले विराटनगरमा एक कार्यक्रम गरी देवकुमारी थापा स्मृति सम्मानबाट साहित्यकार प्रा. डा. चूडामणि बन्धुलाई सम्मान गरेको हो ।
गुठीले साहित्यकार बुन्धुलाई नगद ५१ हजार रुपैयाँ राशिसहित सम्मान गरेको छ । उनलाई पूर्वमन्त्री राधाप्रसाद घिमिरे र संस्थाका अध्यक्ष कविराज न्यौपानेले दोसल्ला ओढाएर सम्मान गरे ।
बन्धुले पाँच दशकभन्दा लामो समय विद्यालय, महाविद्यालय, विश्वविद्यालमा शिक्षण अनुसन्धान गरेका छन् । नेपाली कविता, बालसाहित्य, लोक साहित्य, लोक संस्कृतिको क्षेत्रको संयोजन खोज, शोध प्रयोगमा योगदान पु¥याएको योगदानको कदर गर्दैै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ । यसअघि यो सम्मानबाट इन्द्रबहादुर राई, मदनमणि दीक्षित, सत्यमोहन जोशी, दुर्गालाल श्रेष्ठ, बालकृष्ण पोखरेल, धु्रवचन्द्र गौतम, वैरागी काँइलालगायत सम्मानित भइसकेका छन् ।
त्यस्तै गुठीले कवि जयप्रसाद पाण्डेलाई नगद २५ हजार राशिको बबरसिंह थापा सम्मान प्रदान गरेको छ । आधुनिक नेपाली कविता लेखनमा पु¥याएको योगदानको कदर गर्दै पाण्डेलाई सम्मान गरिएको हो । उनका आधा दर्जन काव्यकृति प्रकाशित भैसकेका छन् । रामबहादर थापा, दीपक आलोक, नवराज सुब्बा, धीरेन्द्र प्रेमर्षि, प्रमोद प्रधान, मोमिला, विकल वैद्यलगायत यसअघि यो सम्मानबाट सम्मानित भइसकेको प्रतिष्ठानका हरिमोहन श्रेष्ठले जानकारी दिए । कार्यक्रममा पूर्वमन्त्री घिमिरे, साहित्यकार दधिराज सुवेदीलगायतले मन्तव्य व्यक्त गरे ।