मोरङको केराबारी गाउँपालिकामा जेफाले पर्यटन मेला 

मोरङको  केराबारी गाउँपालिकामा जेफाले पर्यटन मेला 

विराटनगर, ४ वैशाख । मोरङको केराबारी गाउँपालिकामा जेफाले पर्यटन मेला  शुरू भएको छ । केराबारी गाउँपालिका–२ मा रहेको पर्यटकीय क्षेत्र जेफालेमा शुरू भएको पर्यटन मेलामा मेला बजार, भलिबल प्रतियोगिता तथा साहित्य वाचन लगायत कार्यक्रम गरिने आयोजकले बताएको छ ।

बुधवारसम्म चल्ने उक्त मेलाको मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडाले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै खतिवडाले आन्तरिक पर्यटकका लागि जेफाले नयाँ गन्तव्य बनिरहेकाले यसको विकासका लागि सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की, उपाध्यक्ष शान्ति लिम्बू लगायतले जेफालेलाई पर्यटकको हब बनाउन गाउँपालिका लागेको बताए । मेलामा सञ्चालित भलिबल प्रतियोगितामा १२ ओटा टीमको सहभागिता रहेको छ । यसैगरी साहित्य वाचन कार्यक्रममा आधा दर्जनभन्दा बढी कवि तथा गजलकारले आफ्नो सृजना वाचन गर्नेछन् । पर्यटनलाई साहित्यसँग जोडेर पर्यटकीय स्थानको विकासमा टेवा पु¥याउने अभिप्रायले यो कार्यक्रम आयोजित गरिएको केराबारी–२ का वडाध्यक्ष प्रेमबहादुर लिम्बूले जानकारी दिए । सिंहदेवीमा पर्ने पर्यटकीय स्थान जेफालेमा नयाँ वर्ष २०७६ को अवसर पारेर गाँउपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो ।

उत्तरी मोरङको केराबारी गाउँपालिकाको सिंहदेवीमा रहेको जेफाले विस्तारै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । मोरङमै इलाम बिर्साउने चिया बगान, धनकुटाको भेडेटार बिर्साउने भ्यू टावर भएकाले जेफालेमा आन्तरिक पर्यटक प्रशस्त भित्रिन थालेका छन् । समुद्री सतहबाट १ हजार ९ सय ७० मिटर उचाइमा रहेको जेफाले डाँडा मोरङ र धनकुटाको सीमामा अवस्थित छ । पर्यटकीय विकासलाई थप व्यवस्थित र सुविधाजनक बनाउन पछिल्लो समय ६ ओटा घरमा होम स्टेको शुरुआत र जेफाले डाँडामा निर्माण गरिएको भ्यू टावरले पर्यटकमा थप आकर्षण बढेको सामुदायिक होम स्टेका सचिव भीम ठकुरीले बताए । अभियान दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्