विराटनगरबाट गच्छदारले भने ‘कांग्रेस वर्तमान सरकारसँग सहकार्य गर्न तयार छ’

विराटनगरबाट गच्छदारले भने ‘कांग्रेस  वर्तमान सरकारसँग सहकार्य गर्न तयार छ’

विराटनगर, ५ चैत । कांग्रेस उपसभापति विजयकुमार गच्छदारले पार्टी वर्तमान सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

बुधबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै गच्छदारले यस्तो बताएका हुन्। ‘कांग्रेस सरकारलाई सबै खाले सहयोग गर्न तयार छ,’ उनले भने, ‘तर सरकारले संसदीय पद्धति र मूल्यमान्यतामाथि गरिरहेको प्रहार रोक्नुपर्छ।’

उनले विकास निर्माणदेखि लिएर सबै कुरामा कांग्रेस सरकारसँग हातेमालो गर्न तयार रहेको बताए। उनले जनताको हितमा गरिने कुनै पनि काममा कांग्रेस बाधक नबन्ने र प्रतिपक्षी दलको हिसाबले पनि सरकारलाई सहयोग गर्न पार्टी तयार रहेको दोहोर्‍याए।

सरकारले लोकतन्त्र कमजोर बनाउनका लागि अवलम्बन गरेका गलत गतिविधि बन्द गर्नु पर्ने कांग्रेसको मुख्य माग रहेको उनको भनाइ छ। ‘वर्तमान सरकार लोकतन्त्रलाई कमजोर बनाउन उन्मुख छ,’ उनले भने, ‘यस्ता कुराको चाहिँ कांग्रेसले सधैं विरोध गरिरहन्छ।’

गच्छदारले सरकार संसदीय मूल्य र मान्यतालाई कमजोर बनाउन केन्द्रित भएको आरोप लगाए।

सरकारले न्यायपालिकामा अनआवश्यक हस्तक्षेप गरेको बताउँदै उनले मनलाग्दी गरिने हस्तक्षेपको विपक्षमा भने पार्टी सधैं उभिने प्रष्ट पारे।  कांग्रेसले जनतामाझ भिज्ने गरी जनजागरण अभियान सुरु गर्ने बताउँदै नेता गच्छदारले सरकारका गलत क्रियाकलाप उजागर गर्न अभियान केन्द्रीत हुने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्