चम्किदै नवलपरासीको शाश्वतधाम : दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुग्यो

चम्किदै नवलपरासीको शाश्वतधाम :  दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुग्यो

पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको शाश्वतधामको दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुगेको छ। बुधबार बाराको कलैया उपमहानगरपालिकाका आसमहमद अन्सारी शाश्वत धामको २५ औं लाख अवलोकनकर्ताका रुपमा प्रवेश गरेको चौधरी ग्रुपका जेनेरल म्यानेजर मधु पौडेलले जानकारी दिए।

‘यति सुन्दर र मनमोहक होला भन्ने मैले सोचेकै थिइनँ’ अन्सारीले भने,‘यहाँ भ्रमण गर्नेहरुको बयान सुनेर परिवारसहित आएको हुँ। आफैंले प्रत्यक्ष अवलोकन गरेपछि मलाई  यस्तो भव्य स्थान नेपालमा अन्यत्र कहि छैन जस्तो लागेको छ।’

उनको परिवारजनसहित अन्य १० जना आगन्तुकलाई शाश्वत धाम ब्यबस्थापनले फूलमाला र दोसल्ला ओडाएर स्वागत गरेको थियो। यहाँ रहेको एकाम्बरेश्वर मन्दिरको भब्य कलात्मक शैलीले आफूहरुलाई लोभ्याएको र बुद्धिष्ट सेन्टरवाट धेरै ज्ञान सिक्न पाएको अनिसा बेगम खातुनले बताईन्।

उनले यो हिन्दू मन्दिर भए पनि आफ्नो पनि उत्तिकै श्रद्धा रहेको बताईन्।

बुधबार २५औं लाख आगन्तुकका रुपमा शाश्वत धाम प्रबेश गरेका अन्सारीसहित १० जना आयुवम अन्सारी, राजकुमारी अन्सारी, हिमराम अन्सारी, टिकाराम बस्याल, कमला बस्याल विष्णु चापागाई, हिरा चापागाईं, तिर्थ लामा र करुणालाई विशेष सम्मान गरिएको थियो।

शाश्वत धाममा २५  लाख दर्शनार्थी पुगेको उपलक्ष्यमा बुधबार यहाँ आएका सबै दर्शनार्थीका लागि स्वस्ती वाचन, भजन किर्तनले स्वागत गरिएको थियो ।

यहाँको वातावरण, सरसफाइ, बगैचाले आफूलाई लोभ्याएको टिकाराम बस्यालले बताए।

पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको यस धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकम्वरेश्वर शिव मन्दिर यहाँको प्रमुख आकर्षण हो । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातिको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ । एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ।

पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन् । यस्को भब्य कलात्मक शैलीले सबैलाई लोभ्याउदै आएको छ ।

नयाँ वर्षका अवसरमा यहाँ पूजाआजा गर्नेको भीड लागेको थियो। हिन्दू धर्मका मुख्य मुख्य देवी देउताको एउटै थलोमा दर्शन गर्न पाइने यो मन्दिरको फरक विषेशता रहेको छ।

भब्य र आर्कषक मन्दिर निमार्ण गर्न भारतीय पाँच दर्जन बढी कालिगढलाई १४ वर्ष समय लागेको थियो। महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको दुम्कौलीमा करिब ८० बिगाह क्षेत्रफलमा फैलिएको डलर अर्बपति बिनोद चौधरीको सिजी इन्डस्ट्रियल पार्क रहेको छ।त्यसैको दक्षिणी हातामा चौधरीले शाश्वत धामको निर्माण गरेका छन्। कलात्मक र सुन्दरताका कारण यो मन्दिरमा सबै धर्माबलम्बिहरुको आर्कषणको केन्द्र बनेको छ ।

मन्दिर परिसरमा बैदिक कर्मकाण्ड गुरुकुल पनि सञ्चालनमा छ । यहाँ ७२ विद्यार्थीले निःशुल्क संस्कृत अध्ययन गर्दै आएका छन्।यहाँ आकर्षक बुद्धिष्ट सेन्टर पनि स्थापना गरिएको छ। जहाँ बुद्ध धर्म सम्वन्धी विशेष जानकारीहरू पाउन सकिन्छ ।

(सेतोपाटी सहयोग)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्