विराटनगरका उद्योगी पवन सारडाको फैलिँदो लगानी : जो आफ्ना सबै उद्योगको नामै जान्दैनन् !

विराटनगरका उद्योगी पवन सारडाको फैलिँदो लगानी : जो आफ्ना सबै उद्योगको नामै जान्दैनन् !

विराटनगर, ९ बैशाख । सिरहाको लहानमा २०१७ सालमा जन्मिएका उद्योगी हुन् पवनकुमार सारडा । सारडाले १० कक्षासम्म पशुपति हाई स्कूलमा अध्ययन गरे ।

त्यसपछि उनी उच्च शिक्षा अध्ययनका लागि भारत गए । उनी दार्जिलिङ, दरभंगा हुँदै एमए कोलकातामा पढेका हुन् । उनको परिवार संयुक्त भएकाले सबै काम गर्दा नै संयुक्त परिवारबाट नै हुन्थ्यो । सोचविचार, व्यवहार, लेनदेन र सम्बन्धमा पारदर्शी हुनाले संयुक्त परिवारबाट नै हालसम्म व्यापार व्यवसाय सञ्चालन हुने गरेको छ । सारडा भन्छन्, ‘हाम्रोमा अहिले पनि संयुक्त परिवारको संस्कार रहेको छ ।’

२०३२ सालमा चिनी मिल सञ्चालन गरेका सारडा परिवारले २०५० सालतिर मोरङमा ईस्टर्न सुगर मिल शुरू गरे । सिरहामा हुँदा तोरी, धान, चिनीजस्ता कृषिसँग सम्बन्धित उद्योग सञ्चालन भएका थिए । उनका बुवा तथा ठूलोबुवाले सञ्चालनमा ल्याएका १ दर्जन बढी उद्योग अहिले बन्द भएका छन् । करीब २ वर्षको बीचमा सारडाले ती उद्योग बन्द गरेको बताए । नयाँ उद्योग विराटनगरतिर नै आफैंले सञ्चालनमा ल्याएपछि उनले सिरहाका धेरै उद्योग बन्द गराउने अवस्थामा पुगेको बताए ।

२०३५ सालपछि पवनका जेठो दाइ काठमाडौं गए । अरु दाइहरू विराटनगर आए । त्यो बेला उनी भारतमा पढ्दै थिए ।  २०४५ सालमा उनीहरू सिरहाबाट सबै विराटनगर सरेका हुन् ।

पढ्दा–पढ्दै कोलकातामा उनको विवाहको प्रस्ताव आयो । पढ्दै गर्दा उनको कलेजमा पढेकी एउटी युवतीसँग भेट भयो । त्यही बेला परिवार बीचमा कुरा चलेर विवाह भएको सारडाले बताए । उनले बिहेका लागि जनैसुपारी भएको १ वर्षपछि मात्र विवाह गरेका हुन् ।

धेरै उद्योगको नामै थाहा छैन !

पवनकुमार सारडा १ दर्जन बढी उद्योगका मालिक हुन् । १ दर्जन बढी उद्योगमा आवद्ध रहेका उनलाई आफैंले कतिमा लगानी गरेको छु भन्ने समेत थाहा नभएको बताए । उनले कति लगानी कहाँ गरेको हो, त्यो कागज हेरेर मात्र भन्न सकिने बताए । ‘एउटा सिमेन्ट उद्योगमा अर्बौं लगानी लाग्ने हुँदा कति हो भनेर यति नै भन्न सकिन्न,’ उनले भने ।

उनका उद्योगमा प्रिमियर वायर, प्रिमियर स्टील्स्, एसियन थाई फूड्स, गूड लाइफ बिस्कुट, पशुपति सिम्पेक, गूड लाइफ जुस, न्यूट्री फुड, स्वदेशी साबुन, पशुपति खाद्य तेल, प्रिमियर अग्र्यानिक, विनायक अक्सिजन, शिवम् सिमेन्ट, होङ्सी सिमेन्ट सम्झने नाम हुन् । उनले यसबाहेक धेरैमा लगानी गरेका छन् । उनी भन्छन्, ‘कति त बिर्सिन्छ, सम्झनैपर्छ ।’

१४ वर्षको उमेरदेखि नै उनले सुनचाँदीको काम गर्न थालेका हुन् । उनका बुवाले नूनदेखि सुनसम्म बेचेको उनी सम्झन्छन् । १ जना सैनिकले उनको परिवारलाई हनुमाननगरमा ल्याएर राखेर व्यापार शुरू गरेका हुन् । उनका बुवा पछि मात्र सिरहा गएका हुन् । सिराहामा उनका हजुरबुवाको नाममा ५ हजार बिगाहा जग्गाजमिन भएको उनले बताए ।

उनी जन्मनुभन्दा पहिला नै उनका बुवाको सिरहामा पशुपति राइस मिल थियो । जनकपुरदेखि सिरहाको लहानसम्म करीब १५ वटा राइस मिल सारडा परिवारका थिए ।

५ हजारलाई रोजगारी

सम्पन्न परिवारमा रहेका सारडाको नेतृत्वमा हाल ५ हजार कामदार छन् । अझै ५ हजारलाई रोजगारी दिने दाउमा छन् उनी । उनले सिरहामा रहेका १६ वटाभन्दा बढी उद्योग बन्द गरेर विराटनगरमा नयाँ उद्योग शुरू गरेको बताए ।

एभरेस्ट आइरन सञ्चालन गर्दा सुनसरी मोरङमा कुनै पनि उद्योग नभएको उनले बताए । ‘कोशी कोरिडोर सञ्चालन गर्ने नै हामी हौं,’ उनले भने, ‘त्यसपछि उद्योगहरू खुल्ने क्रम शुरू भएको हो ।’

सारडा भन्छन्, ‘उद्योगमैत्री नीति नहुँदा समस्या छ, राज्यले उद्योगमैत्री नीति बनाउनुपर्छ । उद्योगी व्यवसायीलाई सजिलो भयो भने व्यवसायीले नै देश बनाउने उनको ठम्याइ छ । सारडा संविधानसभा दोस्रो निर्वाचनपछि समानुपातिकबाट सांसद समेत भएका हुन् । (प्रस्तुती: सुमन सुस्केरा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्