हम्मरले टाउकोमा प्रहार, पुत्रहत्याकाे आरोपमा बाबु पक्राउ

हम्मरले टाउकोमा प्रहार, पुत्रहत्याकाे आरोपमा बाबु पक्राउ

दाेलखा, ११ बैशाख ।  छोराको हत्या गरेको आरोपमा दोलखा शैलुङ गाउँपालिका वडा नम्बर ४ मागापौवाका चूडाबहादुर रेग्मी पक्राउ परेका छन् ।

रेग्मीले आफ्नो २२ वर्षीय बोल्न नसक्ने छोरा वेदबहादुर रेग्मीलाई जताततै फोहोर (दिशापिसाब) गरेको रिसमा हम्मर प्रहार गरी हत्या गरेको खुलेको दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए ।

बुधबार बिहान शैलुङ गाउँपालिका वडा नम्बर ४ मागापौवामा पर्ने खहरे खोलामा एक युवकको लाश भेटिएको जानकारी इलाका प्रहरी कार्यालय मागापौवाले पाएको थियो ।

प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गर्दा मृतकका बुबा चूडाबहादुरले नै छोराको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताए ।

गत वैशाख २ गते वेदबहादुरले जताततै फोहोर गरिदिएपछि आवेशमा आएर बुबा चूडाबहादुरले घरमै रहेको हम्मरले टाउकोमा प्रहार गर्दा छोराको घटनास्थलमै मृत्यु भएको थियो ।

छोराको मृत्युपछि चूडाबहादुरले लाशलाई कम्बलमा बेरेर खहरे खोलामा फाली कसैलाई नभनी बसेका थिए । बुधबार छोराको लाश भेटिएपछि बुबा चूडाबहादुरलाई पक्राउ गरी अनुसन्धान गर्दा घटनाबारे जानकारी भएको प्रहरीले जनाएको छ ।

छोराको हत्या गरेको आरोप लागेका चूडाबहादुरलाई ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्