‘विप्लव’ नेत्रृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउने तयारी : गृहमन्त्री थापा

‘विप्लव’ नेत्रृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउने तयारी : गृहमन्त्री थापा

विराटनगर, १२ बैशाख ।  प्रतिबन्ध लगाएको सरकारले नै नेत्रविक्रम चन्द 'विप्लव' नेत्रृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउने तयारी गरिरहेको जानकारी गृहमन्त्री रामबहादुर थापाले दिएका छन्।

उनले मूलधारको राजनीतिमा नआए विप्लव समूह थप अप्ठेरोमा पर्ने पनि दावी गरे। विराटनगरमा बिहीबार प्रदेश- १ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै थापाले विखण्डनकारी गतिविधी गर्ने सीके राउतको समूहलाई मूलधारमा ल्याउन सफल भइसकेको अवस्थामा अब सरकारको ध्यान विप्लवतर्फ केन्द्रीत भएको जानकारी दिए। जनताले नरुचाएका कारण सरकारले वार्तामा बोलाओस् भन्ने चाहना विप्लव समूहको रहेको उनको जिकिर थियो।

सरकारले प्रतिबन्ध लगाएपछि गतिविधी पनि कम हुँदै गएको र वार्तामा आएर समस्याको समाधान खोज्ने प्रयास नगरे विप्लव समूह समाप्त भएर जाने गृह मन्त्री थापाको चेतावनी छ।

सरकारले वार्ताको बाटो पूरै खुल्ला राखेको जानकारी दिंदै उनले विप्लव समूहको समाधानको एउटा मात्रै कडी वार्ता र सम्वाद नै भएको बताए। 'अब मुलुक र जनताले हिंसा र युद्ध चाहेका छैनन्,' उनले भने, 'यसतर्फ सचेत भएर सरकारसँग वार्ता गर्दै समस्याको समाधान खोज्नु उचित हुन्छ।' विप्लवलाई मूल धारमा ल्याउनका लागि सरकारले धेरै कसरत गरिरहेको पनि थापाको भनाइ छ।

सामाजिक लगायत सबै खाले अपराध नियन्त्रण गर्न सरकारले अभियान चलाउने तयारी गरिरहेको जानकारी उनले दिए। हिंसात्मक अपराध नियन्त्रण गर्न सरकारले सफलता प्राप्त गरिरहेको र अब सामाजिक अपराध नियन्त्रणमा पनि विशेष अभियान चलाइने गृह मन्त्री थापाको भनाइ छ। भूमिगत राजनीतिक गतिविधिको आवरणमा हुँदै आएका अपराधिक गतिविधिहरु नियन्त्रण गर्न सरकार सफल भएको दावी उनको छ।

थापाले भने, 'सरकारले अब घरेलु हिंसालगायतका सामाजिक अपराध नियन्त्रण गर्न विशेष कार्यक्रमहरू सञ्चालन गर्ने छ।' संघीय सरकारले एक वर्षमा विकास र समृद्धिका लागि नीति बनाएर आधार तयार गरिसकेका कारण यही सरकारका पालामा दोहोरो अंकको आर्थिक वृद्धि हाँसिल हुने उनको दावी छ।

बैठकमा गृह सचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनाल, प्रदेश १ का १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखलगायतका सुरक्षा अधिकारीको सहभागिता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्