‘पूर्वराजाको पछुवा गाडीले खोस्यो दुई परिवारको खुशी’, हरैचामा ज्यान गुमाएकाहरुकाे परिवारका पिडा

‘पूर्वराजाको पछुवा गाडीले खोस्यो दुई परिवारको खुशी’, हरैचामा ज्यान गुमाएकाहरुकाे परिवारका पिडा

विराटनगर, १३ बैशाख । अल्मुनियमको काम गर्दै आएका २२ वर्षीय प्रकाश चौधरी र र हेम चौधरी कामका सिलसिलमा जहाँ पुगेपनि साँझ बास बस्न घर आइपुग्थे । एसएलसीसम्म सँगै पढेका उनीहरुले पढाई बिग्रिएपछि काम पनि सँगै सिके । पछिल्लो समय मेसिन आफै जोडेका उनीहरु ठेक्का लिएर काम गर्न सक्ने भएका थिए ।

प्रकाशले सुन्दरहरैंचामा लिएको साइटको काम चैत २७ गते बुधवार सक्ने दिन थियो । छिट्टै काम सक्न साथी हेमलाई लिएर हरैचा पुगेका उनी साँझ सात बजे घर फर्कदै गर्दा दुर्घटनामा परे ।

पूर्व राजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल छाडेर फर्किएको सुरक्षाकर्मी सवार बा ३ च ७९६२ नम्बरको कारले ठक्करबाट हेम चौधरीको ज्यान गयो । गम्भीर घाइते प्रकाशको पनि उपचारका क्रममा बैशाख २ गते मृत्यु भयो ।

बुढेसकालको सहारा खोसिएपछि हेम र प्रकाशको परिवारको खुसी खोसिएको छ । प्रकाशको घर इटहरी उपमहानगरपालिका–९ पुष्पलालचोकमा छ । उनकी आमा कालिनदेवी चौधरीको मुख्य पेशा मकै पोलेर बेच्ने हो ।

१० वर्ष अघिदेखि हरियो मकै पोलेर परिवार चलाउँदै आएकी कालिनदेवीका श्रीमान रोगी छन् । बेला बेला उनी ठेला कुदाउँछन् । कालिनदेवीले तीन छोरी र एक छोरा मकै बेचेरै हुकाएकी हुन् ।

दुई वर्षयता छोरा प्रकाश चौधरीपनि स्वरोजगार भएर परिवारका लागि सकेको भरथेक गर्दै थिए । परिवार खुसी साथ चल्दैथियो । तर चैत २७ गते बुधवारदेखि पूर्व राजा ज्ञानेन्द्र शाहलाई विराटनगर पु¥याएर झापा फर्कदै गरेको सुरक्षाकर्मी सवार गाडीले कालिनदेवीको खुशी खोसिदियो । एक्लो सहारा खोसिएपछि कालिनदेवी सम्हालिन सकेकी छैनन् ।

इटहरी–८ हटियालाइनमा बस्दै आएकी ४८ वर्षीया आशादेवी चौधरीको अवस्था पनि उस्तै छ । बुधवार र आइतबार लाग्ने लाग्ने हटियामा चिया बेच्ने आशादेवीले एक्लो छोरा हेम चौधरीको साथ गुम्यो । बुढेशकालको एक्लो सहारा खोसिएपछि आशादेवी र कालिनदेवीको दैनिकी रोएरै वितिरहेको छ ।

‘हातखुट्टा लागुनजेलसम्म त गरेर खान्छु’ हेमकी आमा आशाले भनिन् ‘भर्खर आफ्नो खुट्टामा उभिन सिक्दै थियो अब बुढेसकाल कसको सहारमा बिताउनु ?’ हेमका बुबा नन्दलालको २०७० सालमा निधन भएको थियो । आशाका एक छोरा एक छोरी थिए । नन्दलालका जेठी श्रीमतीका २ छोरा १ छोरी छन् ।

ठक्करबाट गम्भीर घाइते प्रकाश र हेमलाई विराटनगरको नोबेल अस्पताल लगिएको थियो । अस्पतालले हेमलाई मृत घोषणा गर्यो । प्रकाशको उपचारका लागि विराटनगर अस्पतालमा भर्ना गरियो । तर उनको पनि बैशाख २ गते सोमबार निधन भयो । दुर्घटनामा आफन्त गुमाएका विपन्न परिवारलाई पूर्व राजाको सचिवालयले कुनै सहयोग गरेको छैन ।

राजपरिवारको समवेदनासमेत आएन !

पूर्व राजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल छाडेर फर्किएको पछुवा गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएपनि पूर्व राजपरिवारले कुनै चासो दिएन । घटना भएको १४ दिनसम्म राजपरिवारले न पीडित परिवारप्रति सान्त्वना व्यक्त गर्यो न त कुनै सहयोग नै । प्रकाशको उपचार हुँदा पूर्व राजाको सहयोगी भनेर केही व्यक्ति पुगेका थिए । तर उनको निधन भएपछि घरसम्म कोही पुगेका छैनन् ।

परिवार पाल्ने छोरा गुमाएपछि आशादेवी र कालिनदेवीको परिवार बुढेशकाल कसरी बाच्ने भन्ने तनावमा छ । ५० वर्ष पुग्नै लागेकी कालिनदेवी विगतलाई विर्षिएर सम्हालिन खोज्छिन् तर बुढेशकाल सम्झँदा आफूलाई सम्हाल्न सक्दिनन् । घरको बरण्डामा रहेको खाटमा बसेकी उनको दैनिकी सहाराबिहिन बुढेशकालको अवस्था सम्झदै वित्ने गरेको छ ।

‘जे भएपनि उनी हिजोका राजा हुन्, हामी उनकै सन्तान थियौं’ कालिनदेवीकी छिमेकी शिताकुमारी श्रेष्ठले भनिन् ‘आफ्नै गाडीले प्रजालाई दुःख दिंदा पनि हेरेनन् ।’

सन्तान वियोगमा रहेका उनीहरुको चाहना पनि राज परिवारले सहयोग गरिदियोस् भन्ने छ । ‘हात खुट्टा लागुनजेल त जसोतसो गरेर खान्छौं ।’ प्रकाशकी आमा कालिनदेवीले भनिन ‘ बुढेशकालमा कसरी बाञ्नु ।’

हटियाबाट १० वर्षअघि स्थानीय सरकारले स्थानान्तरण गर्दा कालिनदेवीलाई पाँच धुर जग्गा दिइएको थियो । सोही जग्गामा उनले सानो घर बनाएकी छन् । आशादेवीको घर हटियालाइनमा नै छ । तर अर्काको जग्गामा ।

वर्षाैदेखि बसोवास गर्दै आएकी उनको घर हटाउन शलिदेवी थारुले जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेकी छन् । सन्तान वियोगमा रहेकी उनी राज परिवारले सहयोग गरिदिए बुढेशकालमा बाँच्न सहयोग हुने आशमा छिन् । उद्घाेष दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्