झुठो विवरण पेश गरी भारतीयलाई नेपाली नागरिकता दिलाउन खोज्ने व्यापारी

झुठो विवरण पेश गरी भारतीयलाई नेपाली नागरिकता दिलाउन खोज्ने  व्यापारी

विरगन्ज, १३ बैशाख ।  झुठो विवरण पेश गरी भारतीयलाई नेपाली नागरिकता दिलाउन खोज्ने एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको केहीबेरमै छाडेको छ।

लगभग आधादर्जन भारतीयको  नागरिकता बनाई दिने भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका रून्चे भनिने मदन गुप्तालाई प्रहरीले पक्राउ गरेको केही घन्टामा छाडेको हो।

वीरगन्ज घडीहर्वा बस्ने गुप्ता जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारीसँग अभद्र ब्यबहार गरेको आरोपमा बिहिबार दिउँसो पक्राउ परेका थिए। बिहिबार अपरान्ह जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता बनाईदिन्छु भन्दै केही भारतीय सहित जिल्ला प्रशासन कार्यालय पुगेका गुप्ताले कर्मचारीलाई घुसखोर दलाल भन्दै हल्ला मच्चाउँदै प्रशासकीय अधिकृत सदन कर्ण माथि आक्रमणको प्रयाससमेत गरेका थिए।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सदन कर्णलाई पैसा नखाई काम नगर्ने भन्दै होहल्ला गर्नुको साथै  सहायक प्रजिअ नेत्र शर्मा पौडेललाईसमेत अपशब्द प्रयोग गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। रक्सौल नाकाबाट वीरगन्जको विभिन्न स्थानमा तस्करीका अबैद्य कारोवारमा प्रसिद्धि कमाएका रून्चे भनिने गुप्तालाई प्रहरीले पक्राउ गरेको केही घन्टामै छाडिदिएको थियो।

यस विषयलाई जिल्ला प्रशासन कार्यालयका कर्मचारीले  अर्थपूर्ण रुपमा लिएका छन्। जिल्ला प्रशासन कार्यालका एक कर्मचारीले भने, ‘कार्यालयमा आएर  हाकिमलाई धम्क्याएर नागरिकता लिन खोज्ने तस्करलाई पनि प्रहरीले यसरी छाड्न मिल्छ र?’

रुन्चेले प्रयोग गरेको शब्द सहनीय थिएन, सहायक प्रजिअ पौडेलले भने, ‘सहनै नसक्ने भएपछि जिल्ला प्रहरी कार्यालयमा पठाइएको हो। तर, केहीबेरमै जिल्ला प्रहरी कार्यालय पर्साले प्रशासनसँग कुनै छलफल नै नगरी रिहा गरेकोमा आश्चर्य लागेको प्रजिअ शर्माले  भने। छाड्नुअघि आफूसँग सामान्य सोधपुछ समेत नगरिएकोमा उनको गुनासो छ।

गुप्ता आफैं भारतीय नगरीक भएको भनी जिल्ला प्रशासन कार्यालयमा विगतमा उजूरीसमेत परेको थियो। उनी भारत बिहार आदापुर बिसुनपुरवा निवासी हुन्।

पहिलो मधेस आन्दोलनपछि झुठो विवरण पेश गरेर बारा जिल्लाबाट उनले एक दशकअघि नेपाली नागरिकता लिएका थिए।

नेपाली नागरिकताको प्रमाणपत्र लिएको एक दशकभित्र अबैध धन्दा गरेर वीरगञ्ज र काठमाडौंमा उनले करोडौंको सम्पत्ति जोडेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक राजेश दत्तले भने गुप्तालाई तारेखमा मुक्त गरेको दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्