झापामा मोटो रकम असुलेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह सक्रिय

झापामा मोटो रकम असुलेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह सक्रिय

विर्तामोड , वैशाख १५ गते ।

मोटो रकम असुलेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह झापामा सक्रिय रहेको पाइएको छ ।
गृह मन्त्रालयले जन्मसिद्धका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिन परिपत्र गरे यता गैर नेपाली नागरिकले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय नागरिकलाई रकम खर्चेर किनेपछि कागजात मिलाएर नेपाली नागरिकता लिने क्रम बढेको पाईएको हो । पछिल्लो पटक कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ र उनकी श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक भुपाल गुरुङलाई नेपाली नागरिकता बनाउन सम्पूर्ण प्रकृया पुर्याएर जिल्ला प्रशासन ल्याउने क्रममा पक्राउ परेपछि यसको रहस्य बाहिर आएको हो ।

स्थानीय व्यक्तिले प्रहरीमा नागरिकता सम्बन्धी गोप्य उजुरी दिएपछि आर्थिक चलखेल हुने गरेको रहस्य छताछुल्ल भएको छ । वडाबाट सिफारिस देखि जन्मदर्ता सम्मका घटना मिलाउन मोटो रकम खर्चेर स्थानीय जनप्रतिनिधि तथा दलका व्यक्तिहरूले भूमिका खेलेको पाइए पनि कारवाहीको दायरामा नक्कली बाबु—छोरा मात्र परेका छन् ।
आवश्यक कागजात पूरा गरी बमबहादुरले आफ्नो जेठो छोरा भन्दै भुपाललाई नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय झापा लगेका थिए । प्रशासन कार्यालयमा खटिएका प्रहरी टोलीले भारतीय नागरिक भुपालसहित बम बहादुरलाई नियन्त्रण लिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

३५ वर्षीय भुपालको स्थायी ठेगाना भने आसाम राज्यको मणिपुर कानकोपी जिल्ला भएको पाइएको छ । उहाँको बुबाको नाम चन्द्र बहादुर गुरुङ भएको मतदाता परिचयपत्रमा उल्लेख छ । नियन्त्रणमा लिएका भुपाल र बमबहादुरलाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताउनुभयो । प्रहरी अनुसन्धानको क्रममा भुपालले आफू भारतीय नागरिक भएको स्वीकार गरिसकेका छन । दुवै जनालाई किर्ते कागजात र नागरिता ऐन सम्बन्धी मुद्दा लाग्ने डिएसपी श्रेष्ठले बताउनुभयो । नागरिकताको सिफारिसका लागि स्थानीय कविदास गुरुङ, गङ्गाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहाल, वडा सदस्य धनबहादुर गुरुङ, वडा कर्मचारी खगेन्द्रप्रसाद खतिवडाले हस्ताक्षर गरेको पाइएको छ । भने सो पत्रमा वडा सचिव हरिप्रसाद गौतमको हस्ताक्षर सहित छाप लगाइएको छ ।

भारत आसामका भुपाल गुरुङ झापा कचनकवल २ निवासी भन्दै वडा कार्यालयले जन्म दर्ता प्रमाणपत्र समेत बनाइएको पाइएको छ ।
नागरिकताको स्थलगत मुचुल्का ढाँचा अनुसार बमबहादुर र चन्द्रकलाले छोरा भुपाल भन्दै वंशजको नाताले नेपाली नागरिकता प्रमाणपत्र दिएमा फरक नपर्ने भनी वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव र स्थानीय पाँच जनाले सही छाप गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्