पथरीकी रिना मृत्यु प्रकरण : ९ दिन पछि शवको अन्त्येष्टी, प्रहरी अझै अनुसन्धान गर्दै

पथरीकी रिना मृत्यु प्रकरण :  ९ दिन पछि शवको अन्त्येष्टी, प्रहरी अझै अनुसन्धान गर्दै

विराटनगर, १६ बैशाख ।  मोरङको पथरी शनिश्चरे नगरपालिकामा मृत्यु भएकी २९ वर्षिया रिना बस्नेतको ९ दिनपछि दाहसंस्कार गरिएको छ। घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउदै सत्यतथ्य पत्ता लगाउने सहमतिपछि आफन्त र परिवारका सदस्यले सुनसरीको चतराघाटमा आइतबार शवको अन्त्येष्टी गरेका हुन्।

स्थानीय वीरबहादुर बस्नेतको घरको तीन तलामाथि १४ वर्षीय छोरासहित डेरा बस्दै आएकी रिना बैशाख ७ गते शनिबार विहान निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन। बलात्कारपछि हत्या गरिएको र प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै पथरी उद्याेग बाणिज्य संघकी पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरेर स्थानीय बासिन्दा आन्दोलित बन्दै आएका थिए।

परिवारका सदस्य र आफन्तले साथ नदिएपछि आन्दोलनका लागि भनेर गठन गरिएको संघर्ष समिति आइतबार साँझ विघटन गरिएको छ । यसअघि, घटनाको विस्तृत सत्यतथ्य आउनु पर्ने भन्दै स्थानीयले सोमबार र मंगलबार आन्दोलन गर्दा पथरी बजार तनावग्रस्त बनेको थियो।

घटना भएको दिन नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवको पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टम रिपोर्टले पनि छात्ती भित्र तथा टाउकोमा लागेको गम्भीर चोटका कारण मृत्यु भएको देखाएको र हत्या भएको प्रमाण हालसम्म फेला नपरेको प्रहरी कार्यालय मोरङले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता एवं डिएसपी घनश्याम श्रेष्ठले  मृतकको शरिरमा कुनै हतियार प्रहार नगरिएको र बलात्कारपछि हत्या गरेको कुरा पोस्टमार्टम रिपोर्टमा नदेखिएकाे बताए ।  विभिन्न परीक्षणका लागि फरेन्सिक ल्याब (विधी विज्ञान प्रयोगशाला) पठाइएको र त्यसको रिपोर्ट भने प्राप्त भइनसकेको उनको भनाइ छ । फरेन्सिक रिपोर्ट आइसकेपछि थप कुरा खुल्ने र विष वा मदिरा सेवन केही गरेको भए पत्ता लाग्ने श्रेष्ठले जानकारी दिए ।

यसक्रममा उनले आन्दोलनका नाममा घटनालाई हत्या भनेर अफवाह फैल्याउने र अनुसन्धानलाई नै प्रभावित पार्ने काम भएको दाबी गरे। महिलाको मृत्यु जस्तो संवेदनशील विषयलाई हत्या भनेर अनर्गल प्रचार गर्ने यूट्युबर र दर्ता बिनाका अनलाइन सञ्चालकको खोजी थालिएको जानकारी दिंदै उनले भने, ‘ती सबैलाई कारवाहीको दायरामा ल्याइने छ । दायरा फारकिलो पारेर घटनाको अनुसन्धान पनि अघि बढाइएको छ ।’

हालसम्म प्रहरीले घटनाका विषयमा २५ जनासँग सोधपुछ गरिसकेको छ। मृत्यु भएकी रिनाको सम्पर्क व्यापारी एवं समाजका प्रतिष्ठित व्यक्तिसँग रहेको देखिएको छ। त्यस क्रममा रिनाका प्रेमी भनिएका र उनीसँग निरन्तर सम्पर्कमा रहने गरेका मोरङ सुन्दरहरैंचाका व्यापारी कमल नेपाललाई यस अघि नै पक्राउ गरेर प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । त्यसैगरि, रिनासँग लामो सम्पर्क देखिएपछि उर्लाबारीका व्यापारी नेत्र घिमिरेलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ। देश सञ्चार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्