पर्सा, १६ बैशाख । विवरण ढाटेर आफनो छोरालाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन खोज्ने एक जना भारतीयलाई प्रशासनले पक्राउ गरि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ ।
२०६३ मा वीरगंज महानगरपालिका १३ ठेगाना देखाई ३४३०८/४८ नम्बरको नागरिकता लिएका सदामा साह तेलीलाई प्रशासनले पक्राउ गरेको हो । गृहमन्त्रालयले २०६८ पुष २० गते साहको नागरिकता बदर गरेको थियो ।
बदर गरिएको नागरिकता लिएर छोराको नागरिकता बनाउन गएका साह पक्राउ परेका हुन् । विवरण ढाटेर नागरिकता बनाउन पुगेका सुदामा साह तेलीलाई पक्राउ गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र पौडेलले बताए।
साह बिरुद्ध ०७१ सालमा जिल्ला प्रहरी कार्यालय पर्सामा झुठा विवरण पेश गरी नेपाली नागरिकता प्रमाण पत्र लिएको आरोपमा उजुरी दर्ता भएको थियो ।
अब त्यही मिसिलका आधारमा झुठो विवरण पेश गरेको आरोपमा मुद्धा चलाउने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रेवती ढकालले बताउनु भयो । पछिल्लो पटक वैशाख २ मा सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता पाएका नेपालीका सन्तानले बंशजको नागरिकता पाउने बाटो खुला गरिदिएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिनेहरुको भिड बढेको छ ।
अदालतको कहिले दिने र कहिले रोक्ने आदेशका कारण पनि नागरिकता लिनेहरुको भिड बढेको हो । भिडका कारण नागरिकता लिनेहरुले पनि सास्ती खेपेका छन् । भिडमै विवरण ढाटेर नागरिकता लिन खोज्नेहरु पनि सक्रिय भएका छन ।