विराटनगर, १७ वैसाख । मे दिवसको अवसरमा विराटनगरमा मजदुरहरुको स्वास्थ्य चेकजाँच गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र माईक्रो ईकाई कमिटी विराटनगरले संयुक्त रुपमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।
विराटनगरबाट छुट्ने लामो तथा छोटा दुरीका सवारी साधनमा काम गर्ने मजदुरहरुको स्वास्थ्य चेकजाँच गरिएको छ । स्वास्थ्य शिविरमा आँखा, नाक ,कान घाँटी, चिनी रोग, प्रेसर, थाईराईड, कलेजो तथा पेट सम्बन्धी चेकजाँच गरिएको थियो ।
विराटनगरमा रहेको म्याक्स हस्पिटलको प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य शिविरमा विभिन्न रोग सम्बन्धी परामर्श प्रदान गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन महानगर कमिटिका अध्यक्ष उत्तम कुमार बञ्जाराले जानकारी दिए । स्वास्थ्य शिविरमा मजदुर, यातायात व्यावसायी, बसपार्क काउण्टर कर्मचारी, जिफन्टमा आवद्ध पदाधिकारी तथा स्थानियवासी गरी १ सय ६१ जनाले स्वास्थ्य लाभ लिएको बञ्जराले बताए ।