विराटनगर, १८ बैशाख ।
उदयपुर रौतामाई गाउँपालिका ६ नामन्ताका (समाल) मगर परिवारमा देखिएको काम्ने समस्याको उपचार शुरु भएको छ । गत बैशाख १० गते प्रदेश सभामा उदयपुरका सांसद नारायणबहादुर मगरले त्यहाँको समाल समुदायका एक दर्जमा काम्ने समस्या देखिएको भन्दै सकारको ध्यानाकर्षण गराएका थिए ।
उनले सदनमा जानकारी गराए लगत्तै प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले जिल्ला अस्पताललाई त्यहाँको अबस्थाको बारेमा तत्काल बुझ्न निर्देशन दिएको थियो ।
जिल्ला अस्पताल गाईघाटबाट गएको टोलीले समाल समुदायका ८ जना बिरामीलाई सोमबार नै गाईघाट ल्याएर त्यहाँ सामान्य उपचार पछि सोही दिन बिराटनगर ल्याएको सांसद मगरले बताए । मगरका अनुसार त्रियुगा नगरपालिकाले गाडि खोजेर विराटनगरसम्म पठाउने ब्यवस्था मिलाएको थियो । सांसद मगरको पहलमा सामाजिक विकास मन्त्रालयले उपचारको लागि ल्याईएका बिरामीलाई न्युरो अस्पताल बिराटनगरमा भर्ना गरिएको छ ।
लामो समयदेखि घरमा विरामी परेर बसेका उनीहरुलाई अस्पताल कसरी ल्याउने भन्ने कुरा थियो तर अस्पताल लगेर उपचार गर्न थालेपछि खानबस्न समस्या भएपछि सांससदहरुसँग सहयोग मागिएको छ । बिरामीका कुरुवा र बिरामीलाई खान र बस्नको समस्या देखिएको भन्दै प्रदेश सभा सदस्यहरुसँग सहयोग उठाईएको हो ।
बुधवार बोलाईएको नेकपा संसदीय दलको बैठकमा सहभागी हुन आएका बेला सांसद मगरले अधिकांश सांसदसँग खाने ब्यवस्थाका लागि रकम सहयोग उठाईएको बताए । खान र बस्नको लागि प्रदेश सांसदहरुबाट रकम उठाईएको हो ।
८ जना बिरामीहरु सहित १ जना विरामीका कुरुवा पनि अहिले बिराटनगरको न्युरो अस्पतालमा रहेका छन् । सामाजिक विकास मन्त्रालयले अस्पतालमा लाग्ने उपचार गराउने भएपनि औषधि र खान र बस्नको लागि आर्थिक सहयोग संकलन गरिएको सांसद मगरले बताए । सांसदहरुले आफ्नो ईच्छा अनुसार सहयोग गरेका छ ।