विराटनगर, १८ बैशाख ।
नेकपा संसदीय दलको बैठकमा कुरा नमिल्ने भएपछि प्रदेशको नाम र राजधानीको बिषय टुङ्ग्याउन बसेको पार्टीको बैठकले पनि कुनै निर्णय गर्न सकेन । आज बिहान साँढे ८ बजेदेखि शुरु भएको बैठक साँझ ६ बजेसम्म बसेको थियो । तर पनि कुनै निर्णय भने गर्न सकेन । छलफलमा सहभागी नेकपाका केन्द्रीय तहका नेताहरु अन्त्यमा बिराटनगरलाई राजधानी तोक्ने बिषय नजिक पुगेको एक नेताले बताएका छन् ।
दल भित्र सांसदहरुको गुटबन्दीका कारण पार्टी भित्र पनि निश्कर्ष निश्कन नसकेको हो । तर बिराटनगरको बिकल्पको रुपमा ईटहरी भन्दापनि धनकुटाको बिषय पार्टीको बैठकमा बढी चर्चामा आएको छ । पहिलो प्राथमिकतामा बिराटनगरको बिषय नै दल भित्रको छलफलको बिषय बनेको तर सांसदहरुको गुटबन्दी र हस्ताक्षरको कुराले थप छलफलको बिषय बनेको थियो ।
नेकपाको प्रदेश कमिटी इन्चार्ज भीम आचार्य, सह–इन्चार्ज साबित्रिकुमार काफ्ले, मुख्यमन्त्री शेरधन राई, संयोजक देवराज घिमिरे र सचिव सुरेशकुमार रार्ईसमेत केन्द्रीय सदस्य र मन्त्रीहरु सहित बसेको बैठकले नामको विषयमा मुख्यतः तीन प्रस्तावमाथि छलफल भएको बताइएको छ । पहिचानसहितको नाम, बहुपहिचानसहितको नाम र भौगोलिक पहिचान हुने नामको विषयले बैठकमा औपचारिकरुपमा प्रवेश पाएको भएपनि बहुपहिचानको पक्ष बैठक केन्द्रीत भएको एक नेताले बताए ।
भौगोलिक पहिचानमा कोशी प्रदेश र सगरमाथा प्रदेश के राख्ने भन्ने विषयमा केन्द्रीत गरिएको छ , भौगोलिक पहिचानले सबैलाई समेट्ने भन्न बिषय बढी चर्चामा आएकोले यो बिषय अलिक बढी छलफल भएको हो । यस्तै पहिचानको विषयमा लिम्बुवान, किराँत र बहुपहिचानमा किराँत सगरमाथा वा कोशी किराँत भन्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
नेकपाका प्रदेश संयोजक देवराज घिमिरेले केही दिन देखि नै प्रदेशको बिबिध बिषयमा छलफल भईरहेपनि अहिले चर्चाको बिषय प्रदेशको नाम र राजधानीको बिषयमा नै बढी बैठक केन्द्रीत भएको बताए । पार्टी भित्र एकखालको निर्णय गरेर अघि बढ्ने भनेर बसेको पार्टीमा पनि फरक फरक मत आएपछि सुन्ने र त्यसको बिचको बाटो के हो भनेर खोज्ने काम भएको घिमिरेले बताए ।
बैठकमा सहभागी बहु संख्यक सदस्यहरु तत्काललाई बिराटनगर नै राजधानी तोकेर जाने पक्षमा देखिएका छन् । पार्टी भित्र गरेको निर्णय गोप्य राखिएको भएपनि बिहिवार अन्य दलसँग बैठक गर्ने र त्यसपछि नेकपा संसदीय दल भित्रको बैठकमा सांसदसँग छलफल गरेर सांसदहरुबाट आएको राय र सुझावका आधारमा पार्टीले निर्णय गरेर मात्र यो बिषय टुङ्ग्याने पक्षमा नेकपा देखिएको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पार्टी नेतृत्वले केन्द्रीय सदस्यहरुसंग सुझाव लिएको बताए । त्यस क्रममा जन भावना अनुसार निर्णय गरेर जानुपर्ने र सबै पक्षको भावनालाई बुझेर निर्णय होस् भन्ने सुझाव दिएको जानकारी गराए । पार्टीको निर्णय कसैले नमान्ने भन्ने प्रश्नै नभएको उल्लेख गर्दै पार्टीको आदेश सबैले मान्नु पर्ने स्पष्ट पारे ।
आन्तरिक सहमति गरेर विपक्षीहरुलाई पनि साथमा लिएर जानु पर्ने भएकोले भोलि बिहानसम्म सकारात्मक निर्णय हुने बताईएको छ।
सांसदको हस्ताक्षर अभियान
बुधबार बिहानैदेखि गोठगाउँ, इटहरी, धरान र धनकुटाकालाई राजधानी बनाउन दवाव दिदै आएका सांसदहरु एक ठाउँमा उभिएर हस्ताक्षर संकलन गरेका छन् । सरकारलाई दवाव दिन विराटनगरका बिरोधी सांसदहरुले वृहत विराट विकास क्षेत्रलाई राजधानी प्रस्ताव गर्नुपर्ने भन्दै साँझसम्म ४२ जनाले हस्ताक्षर गरेको बताइएको छ । त्यसले पार्टीलाई पनि दवावमा पारेको छ ।
वृहत विराट विकास क्षेत्रलाई राजधानी बनाउनु पर्ने प्रस्तावमा हस्ताक्षर गरेर पार्टी पदाधिकारी बैठकमा पुगेका सांसद राजेन्द्र राईले सबैको भावना समेटेर निर्णय गर्न दवाव दिए । धनकुटा र संखुवासभा बाहेकका सबै सांसदहरु हस्ताक्षर अभियानमा लागेका छन् । ईटहरको पक्षमा हस्ताक्षर अभियान चलि रहँदा धनकुटाका ६ जना सांसदहरु भने धनकुटा राजधानीको प्रस्ताव हातमा लिएर बसेका छन् । उनीहरुले भोली प्रदेश सभामा धनकुटालाई राजधानी तोकेर प्रस्ताव ल्याउने जनाएका छन्। धनकुटाकी सांसद कुसुम श्रेष्ठले जिल्ला पाटीृको म्याण्डेट अनुसार आफुहरु धनकुटा राजधानीको पक्षमा रहेकोले त्यही प्रस्ताव लिएर जाने तयारीमा रहेको बताए । धनकुटाबाट नेकपाको ४ जना र कांग्रेसका २ जना सांसद छन् ।