प्रदेश  राजधानीमा प्रदेश सभा सदस्यकै कोठामा दिनदहाडै चोरी

प्रदेश  राजधानीमा  प्रदेश सभा सदस्यकै कोठामा दिनदहाडै चोरी

सुर्खेत, २५ बैशाख ।  राजधानी वीरेन्द्रनगरमा डेरा गरी बस्दै आएको कर्णाली प्रदेश सभाका सदस्यको कोठामा दिनदहाडै चोरी भएको खुलेको छ ।

मंगलवार दिउँसो करीब २ बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट कालिकोट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीको कोठामा राखिएको नगद चोरी भएको हो । उनका अनुसार कोठामा रहेको ५४ हजार रुपैयाँ नगद चोरी भएको हो ।

मंगलवार दिउँसो करीब २ बजेतिर आफू योजनाको विषयमा मन्त्रालयतिर गएको बेला छडले ढोकाको ताला तोडेर दराजमा राखेको नगद चोरी भएको उनले बताए । ‘घरभेटी पूजामा गएका थिए, त्यही मौकामा चोरी भयो,’ उनले भने । उनी वीरेन्द्रनगरको खजुरास्थित सिम्ताली चोक नजिकै धमलाको घरमा कोठा भाडामा बस्दै आएका छन् ।

उनले प्रहरीले अनुसन्धान गरिरहेको भएपनि चोर पत्ता लाग्नेमा शंका रहेको बताए । ‘अब चोर पत्ता लाग्न मुस्किल छ,’ उनी भन्छन्, ‘राजधानीमा नै यसरी दिनदहाडै चोरीका घटना हुनु असामान्य नै हो ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने चोरी गर्नेको खोजी भइरहेको जनाएको छ । घटनाको जानकारी प्राप्त हुने वित्तिकै आफूहरू घटनास्थलमा नै पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक (डीएसपी) प्रदीप क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्