प्रधानमन्त्री ओली आज भियतनामको औपचारिक भ्रमणमा जाँदै , यस्ता छन् कार्यक्रम

प्रधानमन्त्री ओली आज भियतनामको औपचारिक भ्रमणमा जाँदै , यस्ता छन् कार्यक्रम

गोपाल खनाल

काठमाडौ, वैशाख २६ गते ।

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दक्षिण पूर्वी एसियाली(आसियान)का दुईवटा मुलुक भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । परराष्ट्र सम्बन्धलाई छिमेक र परम्परागत शक्ति राष्ट्रमा मात्र केन्द्रित नगरी साना र विकासशील राष्ट्रमा समेत विस्तार गर्ने उदेश्यले प्रधानमन्त्रीको यो भ्रमण आरम्भ भएको हो ।

प्रधानमन्त्री ओलीले ‘सार्वभौमिक समानता’ का आधारमा छिमेकी राष्ट्र, अमेरिकालगायतका शक्ति र अन्य राष्ट्रसँग सम्वन्ध कायम गर्ने नीति लिनुभएको छ । त्यस अनुसार नै छिमेकी राष्ट्र भारत र चीनको राजकीय भ्रमण गरिसक्नु भएको छ भने संयुक्त राष्ट्रसङ्घीय महासभामा प्रभावकारी उपस्थिति देखाउनुभएको छ ।
त्यस्तै, स्विजरल्यान्डको डावोसमा भएको बिश्व आर्थिक मञ्चको बैठकमा सहभागिता जनाउने पहिलो नेपाली प्रधानमन्त्री उहाँ बन्नुभयो । कम्युनिष्ट प्रधानमन्त्री ओलीले पुँजीवादी राष्ट्रको मञ्च मानिने डावोसमा निम्ता पाउनु र नेपालको लोकतान्त्रिक विकासबारे विश्व जानकारी गराउनु उहाँप्रतिको पहिचान नै थियो ।
सम्वन्धका दृष्टिकोणले खुम्चिएको तर तीव्र आर्थिक विकास गरिरहेका आसियान राष्ट्रहरूसँग द्विपक्षीय सम्वन्ध प्रभावकारी रूपमा अगाडि बढाउनका लागि यी दुई राष्ट्रको भ्रमण तय भएको हो । संयोगले दुबै राष्ट्र अर्थतन्त्रका दृष्टिकोणमा समाजवादी अर्थतन्त्र भएका मुलुक हुन भने राजनीतिक नेतृत्व कम्युनिस्ट पार्टीको छ ।
भियतनामका प्रधानमन्त्री न्युग्यन जुयान फुकको निमन्त्रणामा त्यहाँको पाँचदिने भ्रमण समापनपछि उहाँले कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा त्यहाँको तीन दिनको भ्रमण गर्नुहुनेछ । दुबै भ्रमण औपचारिक भ्रमण हुन् ।

भियतनाम भ्रमणमा प्रधानमन्त्री ओलीले समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ भने त्यहाँका नेशनल एसेम्ब्लीका अध्यक्षसँग पनि भेटवार्ता गर्नुहुनेछ ।
‘ठूला साना, विकसित र विकासशील सबै राष्ट्रसँग नेपालको विकासलाई प्राथमिकतामा राखेर सहकार्य गर्ने सरकारको नीति हो । त्यसै सिलसिलामा यी भ्रमण हुँदैछन्’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले गोरखापत्रसँग भन्नुभयो ।
भियतनामै त्यहाँको हानाम प्रान्तमा आयोजना हुने ‘इन्टरनेसनल डे अफ भैशाक’ लाई उहाँले सम्वोधन गर्नुहुनेछ । राष्ट्रिय भियतनाम बुद्धिष्ट सङ्घले मे १२–१४ सम्म १६ औं संयुक्त राष्ट्रसङ्घीय भैशाक डे र अन्तर्राष्ट्रिय बुद्धिष्ट सम्मेलन आयोजना गरेको हो । त्यसमा नेपाल लगायत अन्य देशबाट बौद्ध भिक्षुहरुको ठूलो समूह पनि सहभागी हुँदैछ । सम्मेलनमा भारतका उपरराष्ट्रपति बैंकट नाइडु, मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदसहितको उच्च राजनीतिक नेतृत्वसमेत सहभागिता हुँदैछ ।
‘बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गर्ने र नेपाललाई बुद्ध शान्ति स्थल बनाउने सोचलाई अगाडि बढाउने उपयुक्त मञ्च हो यो । प्रधानमन्त्रीले उक्त सम्मेलनमा यो सोचलाई प्रस्तावका रूपमा अगाडि बढाउनुहुन्छ’ भट्टराईले भन्नुभयो ।
प्रधानमन्त्री ओलीलाई संयुक्त राष्ट्रसङ्घीय महासभा र डावोसमा भएका साइडलाइन वार्तामा भियतनामका प्रधानमन्त्रीले भ्रमणका लागि निम्ता दिनुभएको थियो । क्षेत्रीय मञ्चका रूपमा नमुना बनेको र पछिल्लो समय ‘आसियन मिराकल’ भनिने समूहभित्र भियतनाम पनि पर्छ । सन् १९७५ मे १५ मा मा नेपाल र भियतनामबीच औपचारिक कूटनीतिक सम्वन्ध स्थापित भए पनि खास द्विपक्षीय गतिविधि भएका छैनन् ।
अविकास र गरिबीको इतिहासबाट सिक्दै अगाडि बढेको भियतनाम अहिले विश्वकै उदीयमान अर्थतन्त्रमध्येको एक हो । फ्रान्सलाई पराजित गरी आफूलाई स्वतन्त्र घोषणा गर्यो भने सन् १९७५ मा महाशक्ति अमेरिकालाई समेत पराजित गरी कम्युनिस्ट सरकार गठन भयो ।

सुरुको एक दशक विश्वमा एक्लिए पनि सन् १९८६ पछि भियतनामले विकास गर्दै आएको हो । भियतनाम अहिले ठूलो कृषि उत्पादन निर्यातकर्ता मुलुक हो भने तीब्र विदेश लगानी आकर्षित गर्ने मुलुक पनि हो । भियतनामको आर्थिक बिकासबाट नेपालले धेरै सिक्न सक्ने भएकाले पनि यो भ्रमण उपलब्धिमूल हुने बताइएको छ ।
त्यस्तै, द्वन्द्वको त्रासदी भोगेको कम्बोडिया अहिले विश्वको तीव्र आर्थिक गतिविधि गरिरहेको मध्येको एक मुुलुक हो । एक दशक यता कम्बोडियाले औसत ७.६ प्रतिशतको आर्थिक बृद्धि कायम गर्दै आएको छ भने कृषिमा उल्लेखनीय प्रगति गरेको छ । प्रधानमन्त्री ओलीले विकास र समृद्धिकेन्द्रित अर्थतन्त्रलाई अगाडि बढाएको बेला यी राष्ट्रले गरिरहेको बिकासबाट नेपालले सिक्न सक्ने सम्भावना छ ।

प्रधानमन्त्री ओलीलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेनले नेपालको औपचारिक भ्रमणमा आएका बेला निम्ता दिनुभएको थियो । त्यस अनुसारनै अहिले भ्रमण तय भएको हो । वैशाख ३० देखि जेठ १ गतेसम्म हुने भ्रमणमा विगतमा भएका समझदारीलाई छिटो कार्यान्वयन गर्नेबारेमा थप छलफल हुनेछ भने लुम्बीनीमा बुद्धिष्ट पर्यटक भित्र्याउनेबारेमा समेत छलफल हुनेछ ।
नेपालले सन् २०२० लाई भ्रमण बर्षका रुपमा मनाउने र २० लाख पर्यटन भित्र्याउने कार्यक्रम बनाएकोमा त्यसका लागि पनि प्रधानमन्त्रीका आयिसन राष्ट्रको भ्रमण उपलब्धिमूलक हुनसक्छ ।

भियतनामसँग तीन समझदारी हुने
भ्रमणका क्रममा भियतनामसँग तीन समझदारी गर्ने तयारी सरकारको छ । समझदारी प्रवेशाज्ञा, व्यापार तथा लगानी प्रवद्र्धन र द्विपक्षीय परामर्श संयन्त्र सम्वन्धी छन् ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले कूटनीतिक सम्वन्ध रहे पनि सघन हुन नसकेको भियतनामसँग सम्वन्ध विस्तार गर्ने उदेश्यले भ्रमण तय भएको बताउनुभयो । ‘दक्षिण पूर्वी एसियाको उदाउँदो राष्ट्र भियतनामसँग द्धिपक्षीय लगानीको प्रशस्त सम्भावना छ । त्यही सम्भावनालाई ध्यानमा राखेर यो भ्रमण हुँदैछ’ उहाँले भन्नुभयो ।

कम्बोडियासँगका समझदारी कार्यान्वयनमा केन्द्रित
प्रधानमन्त्री हुन सेन नेपाल भ्रमणमा आएका बेला नेपाल र कम्बोडियाबीच नोभेम्बर २०, २०१८ मा द्धिपक्षीय हवाई, द्विपक्षीय सहयोग र सांस्कृतिक आदानप्रदान र व्यापार प्रवद्र्धन तीन सम्झौता भएका थिए । ती समझदारीलाई अगाडि बढाउने र सहयोग क्षेत्र थप बिस्तार गर्नेबारेमा छलफल केन्द्रित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्