सार्वजनिक भए रामबहादुर बम्जन, आश्रममा आशिर्वाद लिन भक्तजनहरुको भिड

सार्वजनिक भए रामबहादुर बम्जन, आश्रममा आशिर्वाद लिन भक्तजनहरुको भिड

सिन्धुली, ३ जेठ । आनीहरुलाई बलात्कार गरेको, बेपत्ता पारेको लगाएतका आरोप लागेका रामबहादुर बम्जन शुक्रबार सिन्धुलीमा सार्वजनिक भएका छन् । आफ्नै आश्रम रहेको कनपा ५ को पैरेमा बिहान १० बजेदेखि उनले आफ्ना भक्तजनहरुलाई सार्वजनिक रुपमै आशिर्वाद दिइरहेका छन् । उनको आशिर्वाद लिन भक्तजनहरुको भिड लागेको छ ।

महिला, बालबालिका, युवा, जेष्ठ नागरिक लगाएतले तातो घाममा लाइन लागेर आशिर्वाद लिइरहेका छन् । बम्जनले भक्तजनको भिड नसकिएसम्म निरन्तर आशिर्वाद दिइरहने बोधि मार्गदर्शन मैत्री धर्म संघका केन्द्रीय सदस्य छत्र बहादुर घिसिङले बताए ।

बोधि मार्गदर्शन मैत्री धर्मको १४ औं महामैत्री दिवसको समापनको अवसरमा उनले भक्तजनलाई दर्शन दिएका हुन् । दिवसको समापनको अवसरमा आयोजित ३ दिने कार्यक्रमको दोस्रो दिन शुक्रबार मात्रै उनले भक्तजनलाई दर्शन दिएको घिसिङले बताए । ७७ जिल्लाका भक्तहरु तथा अन्तराष्ट्रिय बोधि धर्म संघका पदाधिकारीहरु समेत गरि ५ हजार ५० जनाले आशिर्वाद लिइसकेको उनले बताए ।

आफ्नै भाषामा पूजा र प्रार्थना
महामैत्री दिवसको समापनका अवसरमा बोधि मार्गदर्शन मैत्री धर्म संघले सिन्धुलीको आश्रमबाट मैत्री भाषा र लिपी सार्वजनिक गरी सोहि भाषा पूजा तथा प्रार्थना सुरु गरेको छ ।बिहिबारदेखि सो लिपी तथा भाषामा पूजा तथा प्रार्थना शुरु गरिएको बोधि मार्गदर्शन मैत्री धर्म संघका केन्द्रीय सचिवालय सदस्य कमानसिंह लामाले बताए ।

पाँच महिना लगाएर लेखेर बम्जनले लिपी तयार गरेको संघले जनाएको छ । लामो मेहनतपछि बम्जनले लिपी र भाषा सार्वजनिक गरेको उनका अनुयायीहरु बताउँछन् । ‘अहिले यहाँ विश्वकै नयाँ आयाम थपिएको छ, मैत्री भाषा र लिपी’, लामाले भने । ‘हामीले गुरुबाट नयाँ कोशेली पाएका छौं, हामीलाई कोशेली दिनु भएको छ ।’

उनका अनुसार मैत्री लिपी र भाषा छुट्टै हो । उनले थपे, ‘हामी फेरी त्यो भाषा सिक्ने विद्यार्थी भएका छौं ।’ लामाले दिएको जानकारी अनुसार उक्त भाषा मैत्री धर्मका ४ सय अथवस (पुरुष) र २४ ठोकुवा (महिला) महात्मा गुरुले सिकेका छन । अब अरुलाई पनि यो भाषा र लिपीका बारेमा प्रशिक्षित गरिने लामाले बताए ।

उक्त भाषा तथा लिपी भने आश्रम भित्र बाहेक बाहिर सार्वजनिक गरिएको छैन । संघका केन्द्रीय सदस्य छत्र बहादुर घिसिङका अनुसार भर्खर ल्याइएको लिपीको वर्णमाला शुद्ध भई नसकेकाले शुद्ध भएपछि मात्र बाहिर सार्वजनिक गरिने छ । अहिले अनुयायीहरुलाई प्रशिक्षण स्थलमा मात्र उक्त लिपी पढ्ने अनुमति रहेको छ, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्