सन् २०१९ को पहिलो चार महिनामा करिब साढे चार लाख पर्यटक नेपाल आए

सन् २०१९ को पहिलो चार महिनामा करिब साढे चार लाख पर्यटक नेपाल आए

काठमाडौँ, जेठ ३ गते ।

सन् २०१९ को पहिलो चार महिनामा करिब साढे चार लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार जनवरीदेखि अप्रिल महिनासम्म कुल चार लाख ४५ हजार एक सय नौ जना पर्यटकले नेपाल भ्रमण गरेका हुन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.३० प्रतिशतले बढी हो । सन् २०१८ को पहिलो चार महिनामा तीन लाख ८६ हजार ३० जना पर्यटक नेपाल आएको विभागको तथ्याङ्क छ ।
विभागका अनुसार यसबीचमा सबैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । चार महिनामा ६४ हजार पाँच सय ७८ जना चिनियाँ पर्यटक नेपाल आएको तथ्याङ्क छ । यो अघिल्लो वर्षको तुलनामा २०.६४ प्रतिशतले बढी हो । त्यसपछि सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा १९.१० प्रतिशले बढेर भारतीय पर्यटकको सङ्ख्या ६० हजार ४३८ पुगेको छ । वृद्धिदरको हिसाबले भने सबैभन्दा धेरै ताइपेइबाट नेपालमा पर्यटक आएको देखिन्छ । अघिल्लो वर्ष तीन हजार ५७० ताइपेइबाट पर्यटक नेपालमा आएकोमा ६९.८० प्रतिशतले बढेर यस्तो सङ्ख्या छ हजार ६२ पुगेको छ ।
सङ्ख्यात्मक हिसाबले चार महिनामा संयुक्त राज्य अमेरिकाबाट भित्रने पर्यटक तेस्रो स्थानमा छन् । यसबीचमा ३२ हजार ७४० जना अमेरिकी पर्यटक नेपाल आएको विभागले जनाएको छ । त्यसपछि थाइल्यान्डबाट ३० हजार ७०७ र पाँचौँ स्थानमा रहेको श्रीलङ्काबाट २८ हजार १८९ पर्यटक नेपाल आएको तथ्याङ्क छ ।
क्षेत्रीय रूपमा सार्क देशबाट ९७ हजार १६८ र एसियाका बाँकी देशबाट एक लाख ४० हजार पर्यटक नेपाल आएका छन् । त्यस्तै युरोपबाट ८५ हजार २७ जना पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ । ओसियानातर्फ १४ हजार चार सय पर्यटक नेपाल आएकोमा अमेरिकी देशहरूबाट कुल ३९ हजार ९१० जना पर्यटक नेपाल भित्रिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्