ईटहरी उप-महानगरमा छाप र कर्मचारीको हस्ताक्षर नै किर्ते गरी नक्सापास, छानविन समिति गठन

ईटहरी उप-महानगरमा  छाप र कर्मचारीको हस्ताक्षर नै किर्ते गरी नक्सापास, छानविन समिति गठन

इटहरी, ४ जेठ ।  घर निर्माणसम्बन्धि काम गर्ने एक समूहले सरकारी कार्यालय र कर्मचारीको सही तथा छाप किर्ते गरेको खुलासा भएको छ। इटहरी उपमहानगरपालिकाका कर्मचारीको सही र छाप किर्ते गरेर नक्सापास गरी निर्माण इजाजतसमेत लिएको खुलेको हो।

यो समूहले गत माघ महिनामा सात लाख रुपैया लिएर इटहरी ५ स्थित मिरा खड्काको घर निर्माणको जिम्मा लिएको थियो। तर पछि ऋण उद्देश्यको लागि उपमहानगरपालिकामा फाइल खोजी गर्दा नभेटेपछि किर्ते गरेको खुलेको हो।

काम जिम्मा लिने बिल्ड एंगल्स कन्स्ट्रक्सन नामक कम्पनिको सञ्चालक बताउने इटहरी १ का सञ्जय काफ्ले अर्कै कारोबारमा चेक बाउन्स मुद्धामा यतिखेर इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा छन्। ‘ठेकेदार नै थुनिएपछि बैंकको ऋण प्रक्रियाको लागि फाइल खोजी गर्दा त फाइल नै नभएको पाइयो,’ पीडित खड्काले भनिन्, ‘यो हाम्रो सही नै होइन भनेर इन्जिनियरदेखि सबैले भनेपछि उजुरी दिएको छु।’

नक्सा पास गर्ने क्रममा नक्कली फाइल र चलानी नम्बर राखी सहीछापसमेत नक्कली गरेर डकुमेन्ट बनाएको खुलेको छ। माघ १० गतेको मिति रहेको घर निर्माण इजाजतपत्र नै नक्कली भएको खुलेको हो। उपमहानगरपालिकाका इन्जिनियर विकास भट्टराईकाअनुसार आफूसहित प्रमुख इन्जिनियर अर्जुन दाहाललगायत चार जनाको हस्ताक्षर किर्ते गरेको पाइएको छ।

किर्ते गरेको थाहा हुने बित्तिकै इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठकले छानविन समिति गठन गरेको छ। साथै उपमेयर लक्ष्मी गौतमको हस्ताक्षरमा एउटा विज्ञप्तिसमेत जारी गरिएको छ। विज्ञप्तिमा विचौलियाको पछि नलाग्न र आफ्नो कामको लागि कागजातसहित आफै वा प्रतिनिधि पठाउन भनिएको छ।

अहिलेसम्म ८ लाख रुपैया काफ्लेले लगिसकेको खड्काले बताइन्। खड्काका भाई पर्ने सुन्दरहरैंचा ३ का दिपेश बानियाँसमेत सम्झौतामा साक्षी बसेका थिए। बाँनियाले नै खड्कालाई काफ्लेसँग भेटाइदिएका थिए। अन्नपुर्ण पाेस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्