बारा र पर्सामा आएको टोर्नाडोको नेपाली नाम जुराउन विज्ञलाई सकस

बारा र पर्सामा आएको टोर्नाडोको नेपाली नाम जुराउन विज्ञलाई सकस

काठमाडौं, जेठ ५ गते ।

गत चैत १७ गते बारा र पर्सामा आएको टोर्नाडोको नेपाली नाम जुराउन विज्ञलाई सकस परेको छ । टोर्नाडो गएको झण्डै डेढ महिना बित्न लाग्दा पनि त्यसको नेपाली नाम राख्न विज्ञले नसकेका हुन् । के कस्तो नाम राख्ने भन्ने विषयमा ठ्याक्कै नाम जुराउन गाह्रो भइरहेको विज्ञहरूले बताउनुभयो ।

टोर्नाडोको अवस्था मूल्याङ्कन तथा वास्तविक तथ्य पत्ता लगाउन अनुसन्धान गर्न गएको टोलीले समेत सही नाम हालसम्म छनोट गर्न नसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले भन्नुभयो, “टोलीले रिपोर्ट बुझाएको छैन त्यसका आधारमा नाम राखिन्छ, रिपोर्ट आएपछि नामको पनि टुंगो लाग्ला ।”
आउँदो हप्ताभित्र रिपोर्ट आफूसमक्ष आउने र सुझाएका नामका बारेमा छलफल गरी टोर्नाडोको नाम राखिने उहाँले बताउनुभयो । टोलीले भने टोर्नाडोको असर तथा त्यसका विविध पक्षमा गरिएको अध्ययन लगभग अन्तिम चरणमा पुगेको जनाएको छ ।

tornado...Area_Chitawan_National_Park_01_04_2019 (2)फोटो क्याप्सन: चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको टोर्नाडोको तस्बिर : स्रोत स्मल अर्थ नेपाल 

विभागसहित टोर्नाडो पत्ता लगाउने कार्यमा संलग्न स्मल अर्थ नेपाल, इसिमोड तथा प्राविधिकसहितको टोलीले टोर्नाडो आएको स्थानको स्थलगत अध्ययन गरेको थियो ।
“नामहरु आएका छन् तर यही नाम भनेर तोकिएको छैन” टोलीकी संयोजक डा.अर्चना श्रेष्ठले भन्नुभयो, “मन्त्रालयले पनि नेपाली शब्दकोषमा समायोजन गर्न सकिने र सुहाउँदो नाम चाहिन्छ भनेकाले गृहकार्य भइरहेको छ ।” उहाँका अनुसार नेपालमा यसअघि कहिलै पनि नआएको हुनाले यो भविष्यको इतिहास हो । त्यसैले पनि नेपालको मौलिकता झल्कने नाम जरुरी हुन्छ ।
टोलीमा सहभागी विज्ञहरूका अनुसार तराइ भेगमा चल्ने भाषा तथा विपत्तिमा राखिने नामसँग जोडेर समेत नामको खोजी भइरहेको छ । महाहुण्डरी, घूम हुण्डरी, बवण्डर लगायतका नाम सुझाव सङ्कलनबाट आएको विज्ञहरूले बताए । स्मल अर्थ नेपालमा अध्येता नामीहाङ किराँतले भने रिपोर्ट दिइसकेको उल्लेख गर्नुभयो । “अब ड्रोनको तस्बिर तथा भू–उपग्रहका तस्बिर विश्लेषणको काम विभागले गरिरहेको छ,” किराँतले थप्नुभयो, “नामको बारेमा भने विभागले नै टुंगो लगाउँछ ।”
बैशाखभित्र अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने तयारी रहेको उहाँको भनाइ थियो, तर अहिलेसम्म भएको छैन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको टोर्नाडोको भू–उपग्रहबाट उपलब्ध तस्बिरबाट मात्र अध्ययन भएको छ ।
संरक्षित जङ्गल भएका कारण त्यो क्षेत्रमा जान कठिन रहेको अर्का अध्येता पियूष दाहालले बताउनु भयो । पोखरामा उत्पन्न भएर चितवन पर्सा हुँदै टोर्नाडोले बारामा उग्र विनाश गरेको थियो । सो क्रममा २९ जनाले ज्यान गुमाएका थिए ।
नेपालकै इतिहासमा पहिलो पटक आएको टोर्नाडोको नाम त्यतिकै राख्न नसकिने वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठ बताउनुहुन्छ । श्रेष्ठले थप्नुभयो, “हचुवाका भरमा नाम राखिनुहुन्न, यसका हरेक अवयवको सम्बोधन हुने गरी नाम राख्नुपर्छ, सुझावमा परेका नाम त्यति सन्तोषजनक छैनन् ।” पृथ्वी, पानी, हावा, बादल, असिना, चट्याङ आदिको उच्च रूप नै टोर्नाडो हो । नेपाली भाषा तथा स्थानीय भाषाविज्ञसँगै मौसम विज्ञको संयुक्त पहल नाम राख्नका लागि हुनुपर्ने उहाँले सुझाउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्