पाँचथर हत्याकाण्ड : ९ जनाको हत्या गरी आत्महत्या गरेको आशङ्का गरिएका मानबहादुर शङ्कालु र रिसाहा

पाँचथर हत्याकाण्ड : ९ जनाको हत्या गरी आत्महत्या गरेको आशङ्का गरिएका मानबहादुर शङ्कालु र रिसाहा

फिदिम, जेठ ९।

सासू–ससुरा र साढुदाइको परिवारका नौ सदस्यको हत्यापछि आत्महत्या गरेको आशङ्का गरिएका मानबहादुर माखिम बोली–व्यवहार नम्र भए पनि स्वभावमा भने शङ्कालु र रिसाहा भएको पाइएको छ ।
मानबहादुरले विगत पाँचवर्षदेखि मानसिक रोगको औषधि खाँदै आएको भतिजा नेलकल माखिमले बताउनुभयो । श्रीमतीसँग बारम्बार झगडा गरे पनि सासू–ससुरा र साढुदाइले त्यसो नगर भनेर हप्काउँदा मानबहादुर चुप लाग्थे स्थानीयवासी पुष्प फियाकले भन्नुभयो, यतिसम्म गर्ला भन्ने विश्वास त थिएन ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे घटनाका मुख्य अभियुक्त भनिएका मानबहादुरले गाउँघरमा ‘सोझो’ स्वाभाव देखाउने गरेका थिए । तर, बिहेवारी तथा भोजभतेर जाँदा मदिरा पिएको अवस्थामा भने अनावश्यक झगडा गर्थे ।
विशेष गरी श्रीमतीकै विषयलाई लिएर मानबहादुर बढी शङ्कालु र रिसाह थिए । स्थानीयवासी पुष्पका अनुसार, नजिकैको रवि ईलाका प्रहरी कार्यालयले केही महिनाअघि मानबहादुर दम्पतीलाई मेलमिलाप गराई घर पठाएको थियो ।
तर दम्पतीबीचको सम्बन्ध सुध्रिनुको सट्टा बिग्रदै गएपछि मानबहादुर शङ्कालु र रिसाह बन्न पुगेका हुन् । झगडा बढ्दै जानथालेपछि मानबहादुर र मनमाया घरपरिवारकै सल्लाहले सम्वन्ध विच्छेदका लागि जिल्ला अदालतसम्म पुगेका थिए ।
बेला–बेलामा गाँउका केही आभारा युवाको पछि लागेर हिँड्ने गरेको भए पनि झैझगडा भने कसैसँग गरेको देखिँदैन जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख नरेन्द्र कुँवरले भन्नुभयो । मानबहादुरका भतिजा नेलकलका अनुसार, कहिले काही मानसिक रोगको औषधि समेत खाँदैनथे ।

स्थानीयवासी पनि नौ जनाको हत्यामा मानबहादुर एक्लैको संलग्नता नभएको हुन सक्ने बताउँछन् । सोमबार राति भएको बीभत्स हत्यामा मानबहादुरसँगै अन्यको पनि संलग्नता हुनसक्ने आशङ्का स्थानीयबासीको छ । मानबहादुरका ससुरा ७५ वर्षीय बमबहादुर फियाकको चार र उनका माहिलो साढुदाइ धनराज शेर्मा परिवारको पाँचजना गरी नौजनाको बीभत्स हत्या भएको हो ।
सो घटनास्थलदेखि १५ किलोमिटर टाढा मिक्लाजुङ–८, लुम्बाङदेनस्थित आफ्नै घर नजिकै मानबहादुर रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए । मानबहादुरले लगाएको कपडा र त्यहाँ नजिक फेला परेको खुकुरी रगतले लतपतिएको थियो ।

घटना भएको विहान ३ बजेर ९ मिनेटमा मानबहादुरले भतिजा नेलकनसँग पाँच हजार रुपियाँ सापटी मागेका थिए । आफूलाई फोन गरी म मोरङमा छु भन्दै सापट मागेको नेलकल नै बताउनुभएको हो ।
जिल्ला प्रहरी प्रमुख कुँवरले बरामद प्रमाणको आधारमा हत्या घटनामा एकजनाको मात्र संलग्नता देखिएको बताउनुहुन्छ । विस्तृत जानकारी अनुसन्धानपछि मात्र बताउन सकिने उहाँले सुनाउनुभयो । प्रहरी घटनास्थलमै पुगेरै अनुसन्धान गरिरहेको छ ।  नौ जनाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला मेमोरियल अस्पताल लगिएको छ । पोस्टमार्टमपछिमात्र बुधबार साँझ आरुबोटेमा नै ल्याई आफन्तको जिम्मा लगाउने तयारी भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्