एडिबीको डेढ खर्बको लगानीमा प्रदेश १ मा मेगासिटी बन्दै, राजमार्ग आसपासका क्षेत्र समेटिने

एडिबीको डेढ खर्बको लगानीमा प्रदेश १ मा मेगासिटी बन्दै, राजमार्ग आसपासका क्षेत्र समेटिने

विराटनगर, ९ जेठ ।  प्रदेश नम्बर एकमा डेढ खर्बको लगानीमा मेगासिटी बन्ने भएको छ। महेन्द्र राजमार्ग र कोशी राजमार्ग छेउछाउको भूभागलाई एउटै मेगासिटी बनाउन एसियाली विकास बैङ्कले डेढ खर्ब लगानी गर्ने भएको हो।

मोरङ, सुनसरी र झापा जिल्लाअन्तर्गत तराइको भूभागमा पर्ने मुख्य राजमार्ग छेउछाउको भूभागलाई एउटै मेगासिटी बनाउन लागिएको हो । प्रदेश एकका योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले तीन जिल्लाको राजमार्गलाई समेटेर मेगासिटी बनाउने योजना रहेको बताए । उपाध्यक्ष प्याकुरेलका अनुसार मेगासिटीमा पूर्वमा झापाको काँकडभिट्टा, पश्चिममा सुनसरी कोशी ब्यारेजको भन्टाबारी, उत्तरमा सुनसरीको धरान र दक्षिणमा मोरङको विराटनगर हुनेछ । ‘राजमार्गको दुवै छेउका बस्तीमा आधुनिक शहरका सबै सुविधा उपलब्ध हुनेछन्’, प्याकुरेलले भने, ‘स्वास्थ्य, शिक्षा, विद्युत्, ढल, पिउने पानी, फोहर प्रशोधन, सञ्चार, बजारलगायतका सबै सुविधा अत्याधुनिक तवरले प्रदान गरिनेछ।’

एडिबीले दमक, काँकडभिट्टा, दुहबी, इटहरी, धरान, विराटनगर, इटहरी, इनरुवा लगायतका स्थानीय तहका प्रमुखसित बैठक गरिसकेको र त्यसमा आफू पनि सहभागी भएको उनले बताए । मेगासिटीका लागि डिपिआर बनाउने काम आगामी असार महिनादेखि नै शुरु गरिने र ९ देखि १२ महिनाभित्रमा डिपिआर तयार भइसक्ने उनले जानकारी दिए ।
‘शहरलाई विकासको इन्जिन बनाइने अवधारणा छ’, मेगासिटीको खाका प्रस्तुत गर्दै उनले भने, ‘उत्पादन र भण्डारण गाउँले गर्नेछ र बजारीकरण शहरले।

उत्पादनको ढुवानी र भण्डारणका लागि ९ वटा लिङ्क रोड बनाइनेछन् । शहरका साना उत्पादकलाई बिक्री केन्द्र खोलिदिने कार्यक्रम छ । विकसित मुलुकमा हुने आधुनिक शहरको शैलीमा मेगासिटीलाई उत्थान गरिनेछ ।’शहरका घरहरू मौलिक सांस्कृतिक पहिचान झल्कने गरी कसैले बनाउन चाहेमा प्राविधिक सहयोग प्रदान गरिनेछ । अनन्तराज न्यौपाने/बिजमाण्डू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्