भुटानी नायिकाको नेपालमोह

भुटानी नायिकाको नेपालमोह

काठमाडौं, ११ जेठ ।  भुटानकी नायिका उग्येन छोडेन यति बेला नेपालमा छिन्। प्रायः भुटानको राष्ट्रिय पोसाक ‘किरा’मा देखिने उनले भर्खरै नायक पल शाहसँग नेपाली म्युजिक भिडियोमा काम गरिन्। भन्छिन्, ‘पलसँग काम गर्दा निकै रमाइलो भयो। उनको सरल बानीले मन छोयो।’

उग्येन भुटानी हुन् तर नेपाली भाषा मज्जाले बोल्छिन्। थिम्पुमा बस्दै आएकी उनले भुटानको फिल्म उद्योगमा करिअर सुरु गरेको चार वर्ष भयो। उनको पहिलो फिल्मको नाम ‘लोक सो’ हो। उनले अहिलेसम्म सातवटा फिल्म खेलिसकेकी छन्। अभिनयसँगै फिल्म निर्देशन र निर्माणमा समेत हात हालेकी उग्येन पछिल्लो समय कमर्सियल फिल्ममा देखिन थालेकी छन्।

पहिलो फिल्म निकै राम्रो भएपछि उनको डिमान्ड फिल्म उद्योगमा बढ्दै गयो। अहिलेसम्म उनका सबै फिल्म हिट छन्। भुटानमा प्रायः प्रेम कथानक र सामाजिक सचेतनामूलक फिल्म बन्ने गरेको उनी बताउँछिन्।

चलचित्र क्षेत्रमा आउनुअघि उनी एक ट्राभल एजेन्सीमा काम गर्थिन्। नायिका बन्छु भन्ने उनले सोचेकै थिइनन्। भन्छिन्, ‘भाग्यले यहाँसम्म पुर्‍यायो।’ लजालु र अन्तरमुखी स्वभाव भएकाले चलचित्र क्षेत्र आफ्नो लागि नभएको उनी सोच्थिन्। तर आज भुटानलाई विश्वभर चलचित्रको माध्यमबाट चिनाउन उनी अग्रसर छिन्।

कुनै समय ट्राभल एजेन्सीमा काम गर्ने उग्येनलाई उनकी आमाले फिल्म उद्योगमा जान हौस्याएकी थिइन्। उनी भन्छिन्, ‘फिल्म खेल्ने अफर आएपछि आमाबाट नै पहिलो सहमति पाएकी हुँ।’ सुरुमा उनी टीभी जर्नलिस्ट बन्ने इच्छा राख्थिन् तर उनको यो इच्छा भने पूरा भएन।

नब्बेको दशकको मध्यतिर भुटानमा फिल्म बन्न सुरु भएको हो। त्यहाँको चलचित्र उद्योग निकै सानो छ। तर समयसँगै विकास हुने क्रममा छ। बलिउडबाट प्रभावित भुटानी फिल्ममा पछिल्लो समय आफ्नो मौलिक कथावस्तु पस्कन थालिएको छ। त्यहाँको सरकारले पनि फिल्म उद्योगलाई उठाउन मद्दत गरिरहेको छ।

उनी भन्छिन्, ‘भुटानका राजाको जन्मोत्सवमा फिल्म क्षेत्रलाई पनि पुरस्कृत गरिन्छ।’ वर्षको उत्कृष्ट फिल्मले सरकारको तर्फबाट तीस लाख भारु पाउँछ। सांस्कृतिक फिल्मलाई एक लाख र उत्कृष्ट राष्ट्रिय भाषाको फिल्मलाई ५० हजार भारु उपलब्ध गराएर भुटान सरकारले पुरस्कृत गर्छ।

भुटानले त्यहाँको फिल्म उद्योगलाई अगाडि बढाउन प्रत्येक जिल्लामा स्टुडियो बनाउन जग्गा उपलब्ध गराएको छ। प्रत्येक वर्ष कलाकारलाई अन्तर्राष्ट्रिय मञ्चमा गएर कला प्रदर्शन गर्ने प्रबन्ध पनि मिलाइदिएको छ। त्यसका लागि प्रत्येक कलाकारलाई दुई हजार डलरको व्यवस्थासमेत सरकारले गर्दै आएको उनी बताउँछिन्।

भुटानको कला संस्कृतिलाई विश्वमा परिचित गराउन फिल्ममा भुटानी भाषाका साथै राष्ट्रिय पोसाकको प्रयोग गर्नुपर्ने नियम राखिएको छ। यो नियमले भुटानको मौलिक पहिचानलाई विश्वसामु परिचित गराएको उग्येन बताउँछिन्।

‘भुटानी कला र संस्कृति नझल्कने फिल्मलाई भुटानमा सेन्सरसिप लगाइन्छ’, उनी भन्छिन्, ‘तर कथाले मागेको खण्डमा अन्य पहिरन पनि लगाउन पाइन्छ।’

नेपाल आएर ‘वीरविक्रम–२’ हेर्न भ्याएकी उनलाई महानायक राजेश हमालका पुराना फिल्म हेरेको याद छ। नेपालको फिल्म उद्योग प्रविधिमा निकै अगाडि बढेको उनले अनुभव गरेकी छन्। भन्छिन्, ‘नेपाली चलचित्रमा उत्कृष्ट प्रविधिको प्रयोग भएको पाएँ तर भुटान प्रविधिमा अझै पछाडि छ।’

पछिल्लो वर्ष अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उनी नेपाल आएकी थिइन्। यहाँको फिल्म उद्योगबाट उनी त्यो बेलादेखि नै प्रभावित भएकी हुन्। नेपाल आगमनसँगै उनले नेपाली फिल्म र गीतसंगीतमा चासो दिएकी थिइन्। अहिले उग्येन नेपाली म्युजिक भिडियोका लागि निकै रुचाइएकी छन्। भन्छिन्, ‘नेपालको कला क्षेत्रले मलाई खुला मनले स्वागत गरेकोमा खुसी छु।’

नेपाली गीतसंगीत र फिल्मले भुटानमा पनि प्रभाव जमाएको छ। त्यहाँका जनता प्रायः युट्युबबाट नेपालको फिल्म उद्योग चियाउँछन्। भुटान सरकारले बलिउड, हलिउडका कुनै पनि फिल्म हलमा लगाउन नपाइने नियम बनाएको छ। वर्षभरि नै भुटानी फिल्म त्यहाँका हलमा लाग्छन्। ‘एउटै फिल्म राम्रो भएमा दुई तीन महिनासम्म लाग्छ’, उग्येन भन्छिन्।

भुटानमा सामाजिक सञ्जालको विकास पनि निकै पछि भएको हो। उनले फिल्म क्षेत्रमा लागेपछि मात्र फेसबुक अकाउन्ट खोलेकी थिइन्। इन्स्टाग्राममा उनी एक वर्षअगाडि मात्र जोडिएकी हुन्। इन्स्टामा उनका १२ हजार फलोअर्स छन्। भुटानमा नायिका तान्देन विधापछि उग्येन नै सबैभन्दा बढी फलोअर्स भएकी नायिकामा गनिन्छिन्। तान्देनले अहिलेसम्म ३० वटा फिल्म खेलिसकेको र विभिन्न विधामा पटकपटक सम्मान र पुरस्कार पनि जितेकी छन्। उनको जस्तै क्रेज भुटानमा अहिले उग्येनका लागि छ।

उनी पटकपटक नेपाल आएकी छन्। सामाजिक सञ्जालमा नेपाली कलाकारका लाखौं फलोअर्स देख्दा उनी अचम्मित भएको बताउँछिन्। भन्छिन्, ‘भुटानमा १० हजारभन्दा बढी फलोअर्स हुनु भनेको निकै लोकप्रिय कलाकारमा गनिनु हो।’

मध्यमवर्गीय परिवारमा जन्मिएकी उग्येन कलाकार बनेपछि आफ्नो जीवनशैलीमा परिवर्तन आएको बताउँछिन्। उनी भन्छिन्, ‘हिजो बाटोमा हिँड्दा मलाई कसैले चिन्दैनथ्यो अहिले सबैले चिन्छन्।’ फिल्म उद्योगमा लागेर संसार चिन्ने मौका पाएकोमा पनि उनी दंग छिन्। यो खबर सपना महर्जन/ अन्नपुर्ण पोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्