काठमाडौं, १२ जेठ। निजी लगानीको बुद्ध एयरले सोमबारदेखि कोलकाता उडान थाल्ने भएको छ । उडानको सम्पूर्ण तयारी पूरा भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार सुरुमा साताको तीन उडान हुनेछन् । सोमबार पूर्ण अक्कुपेन्सीमा उडाउने तयारी छ । बिहान आठ बजे नेपालबाट उड्ने जहाज १ घन्टा ३० मिनेट उडान दुरीमा कलकत्ता पुग्दैछ । कोलकातामा बुद्धले एटिआर ७२ जहाज उडाउँदै छ । कोलकातामा सोमबार, बुधबार र शुक्रबार उडान हुनेछन् ।
बुद्धले बनारस र कोलकातापछि तेस्रो गन्तब्य गुवाहाटी बनाउने भएको छ । यस गन्तव्यमा भारतबाट सैद्धान्तिक सहमति दिइसकेको बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बस्नेतले जानकारी दिए ।
भारतबाट औपचारिक सहमती आइसकेपछि दुई महिनाभित्र व्यवसायिक उडान थाल्ने कम्पनीले जानकारी दिएको छ । कोलकाता र गुवाहिटी दुबै गन्तव्यमा पर्यटकलाई प्राथमिकता दिएर उडान गर्ने तयारी कम्पनीको छ ।