विप्लवको बन्द: बिराटनगर सहित देशभरको जनजीवन प्रभावित, ठाउँ ठाउँमा आतंकित पार्ने बस्तु फेला

विप्लवको बन्द: बिराटनगर सहित देशभरको जनजीवन प्रभावित, ठाउँ ठाउँमा आतंकित पार्ने बस्तु फेला

विराटनगर, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण सोमबार विराटनगर सहित देशका धेरै ठाउँको जनजीवन प्रभावित भएको छ ।

विराटनगरबाट चल्ने लामा दुरीका सवारी साधनहरु संचालनमा आउन सकेको छैन । बन्दको कारण यात्राका लागि बसपार्कमा गएका सर्बसाधारण सवारी साधन नचलेपछि फर्किएका छन् । विराटनगरमा शैक्षिक संस्था, उद्योग कलकारखाना तथा यातायातका साधनहरु चल्न नसकेका हुन् ।

भोजपुरमा प्रहरी कारबाहीमा परी आफ्ना कार्यकर्ता तीर्थराज घिमिरे मारिएपछि सरकारसँग बदला लिने चेतावनी दिएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल बन्दसहितका चरणबद्ध संघर्ष कार्यक्रम घोषणा गरेका छन् । पुर्ब घोषित कार्यक्रम अनुसार विप्लवले नेपाल बन्दको आब्हान गरेको हो ।
आतंकित पार्ने गतिबिधि
राजधानीको अनामनगर, सुकेधारा र नागढुंगामा भएको विस्फोटमा चारजनाको मृत्यु भयो । यी घटनामा सातजना घाइते भए । प्रहरीका अनुसार ज्यान गुमाउने र घाइते हुनेमा विप्लवकै नेता कार्यकर्तासमेत छन् । सुकेधारा विस्फोटमा घाइते भएका नेवा ः मुक्ति मोर्चाका नेता सुरेन्द्र महर्जनले बम बनाउँदै गर्दा विस्फोट भएको बताएका छन् । थानकोटमा पनि दुईजना घाइते हुनेगरी विस्फोट भएको छ । ललितपुर र भक्तपुरमा पनि प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ ।

ठाउँठाँउमा भएका श्रृंखलाबद्ध विस्फोटले राजधानीमा त्रासको वातावरण बनेको छ । विस्फोटन भएका स्थान अहिले नेपाली सेनाको नियन्त्रणमा छ । आइतबार साँझ बसको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापाले देशैभरका सुरक्षा संयन्त्रलाई सतर्क रहन निर्देशन दिएका छन् । तरपनि सोमबार बिहानैदेखि बन्दको प्रभाव देखिएको छ ।

मोरङमा शंकास्पद बस्तु
मोरङका बिभिन्न स्थानमा शंकास्पद बस्तुहरु फेला परेका छन् । विराटनगर र बुढीगांगा गाउँपालिकाको बिचमा पर्ने बुढीगंगा गाउँपालिका १ पहाडगछ मार्गमा शंकास्पद बस्तु फेला परेको हो । बिहान बिस्फोटक जस्तो देखिने बस्तु स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरिए लगत्तै पुगेको प्रहरीको टोलीले बम भएको हुनसक्ने आशंकामा आर्मीको बिशेषज्ञ टोलीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै मोरङको सुन्दरहरैंचा–७ ढडियास्थित पुर्व–पश्चिम राजमार्गको किनारामा कुकर बम भेटिएको छ । राजमार्ग छेउमा रहेको बिजुलीको पोल नजिकै उक्त बम फेला परेको हो । बम भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेर राखेको छ ।
रातो तारले कुकरलाई बेरेर राखिएको अवस्थामा फेला परेको हो । उक्त कुकरभित्र बिस्फोटक पदार्थ भए नभएको यकिन हुन सकेको छैन । बम कसले राखेको हो भन्ने नखुले पनि सोमबार विप्लव माओवादीले आह्वान गरेकोले बम पनि सोही समुहले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली बम भेटिएको स्थानमा पुगिसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्