सुनसरीको धरानमा डेंगुको महामारी नियन्त्रण बाहिर,स्वीमिङ पुलमा समेत डेंगुको लार्भा र अण्डा भेटिए

सुनसरीको धरानमा डेंगुको महामारी नियन्त्रण बाहिर,स्वीमिङ पुलमा समेत डेंगुको लार्भा र अण्डा भेटिए

सुनसरी, २१ जेठ । सुनसरीको धरानमा डेंगुको महामारी नियन्त्रण बाहिर गएको छ । धरानको एक स्वीमिङ पुलमा समेत डेंगुको लार्भा र अण्डा भेटिएको छ । बि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ चिकित्सकको टोली सहितको ¥यापिड रेस्पोन्स टिमले धरानको सबैभन्दा धेरै डेंगु प्रभावित क्षेत्रमा परीक्षण गर्ने क्रममा धरान १५ नौलोपथमा रहेको धरान रिक्रिएशन प्रा.लिई ले सञ्चालन गर्दै आएको स्वीमिङ पुलको पानीमा डेंगुको अण्डा र लार्भा भेटिएको हो ।

¥यापिड रेस्पोन्स टिमका संयोजक डा. विजय कुमार खनालका अनुसार डेंगुको अण्डा तथा लार्भा भेटिनासाथ तुरुन्तै त्यहाँका कर्मचारीलाई नष्ट गर्न र नष्ट गर्ने तरिका बताए पनि अहिलेसम्म स्वीमिङ पुलले नष्ट नगरेकोले त्यस आसपासमा डेंगुको सङ्क्रमण बढ्न सक्ने छ ।

डेंगुको अण्डा तथा लार्भा नष्ट गर्नकोलागी पेट्रोलियम पदार्थ वा त्यहाँको पानी सुकाएर केही समयको लागी पोखरीलाई सुख्खा राख्नुपर्ने धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताए ।

धरान रिक्रिएशन प्रा.लिई का सञ्चालक कृष्ण पाठकले भने आफू नभएकोले केही थाह नभएको बताए । डेंगुको प्रकोप बढ्दै गएपछि धरान उपमहानगरपालिकाले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी प्रतिष्ठानसँग भएको फगिङ मेसिनको प्रयोग गरी फगीङ गर्दा पनि प्रभावकारी नभए पछि प्रतिष्ठानका विज्ञ चिकित्सकहरूले धरान उपमहानगरपालिका स्वास्थ्य शाखाको सहकार्यमा र्यापिड रेस्पोन्स टिम गठन गरी उक्त टिमले धरानका डेंगु प्रभावित क्षेत्रहरूको घर तथा होटलहरुमा परीक्षण गर्दा डेंगुको अण्डा र लार्भाहरू भेटिएको हो ।

अहिले धरानमा डेंगु नियन्त्रणको लागि अभियान चलिरहेको भए पनि प्रभावकारी हुन नसकेको चिकित्सकहरू बताउँछन् । बिरामी नदेखिएका ठाउँहरूमा समेत डेंगुको लार्भा र अण्डा भेटिएको ¥यापिड रेस्पोन्स टिमका सदस्य महेश्वर राईले बताए । धरानमा डेंगु सङ्क्रमण दर उच्च रहेकोले यसलाई नियन्त्रण गर्न जनप्रतिनिधि जागरुक हुनुपर्नेमा उनले जोड दिएका छन् ।

भैरब आङ्ला/धरान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्