अपाङ्ग ब्यक्तिका जोगवनी-बिराटनगर कथा : सामान ओसार पसार गर्नु बाध्यता, राज्यको निरिह नीति

<span class='c1'>अपाङ्ग ब्यक्तिका जोगवनी-बिराटनगर कथा : सामान ओसार</span> <span class='c2'>पसार गर्नु बाध्यता, राज्यको निरिह नीति</span>

विराटनगर,२२ जेठ । 
५ वर्षको उमेरमा पोलियोको सङ्क्रमणमा परि शारीरिक अपाङ्गता भएका ३८ वर्षका मुजाहिद अन्सारी, केही समय अघिसम्म घडी मेकानिकको रूपमा काम गर्दथे । तर प्रविधिमा आएको परिवर्तनको कारण १७ वर्षसम्म अङ्गालेको आफ्नो पेसा छोडेर केही वर्ष अघिदेखि जोगबनीदेखि विराटनगर सामान ओसार–पोसारको काम गरी आफ्नो ६ जनाको परिवारलार्य चलाउँदै आएका छन् । उनी मात्र नभई उनी जस्तै शारीरिक अपाङ्गता भएका अन्य केही व्यक्तिहरू पनि जीविकोपार्जनको निम्ति यस कार्यमा जुटेका छन् ।

उनीहरू बिस्कुट, चिनी, चकलेट, भुजिया, पापड, लगायत दैनिक उपभोग्य सामाग्री सिमापार जोगवनीबाट विराटनगरका पसल–पसलसम्म पुगेर सामान बिक्री गरी आफ्नो दैनिकी चलाउँदछन् ।जसबापत उनले दैनिक पाँच देखि सात सयको हाराहारीमा कमाउँछन् ।
यसरी लागे यो पेसामा ।
आखिर किन आबद्ध भए त उनीहरू यस पेसामा ? सोचे जस्तो सहज छैन यो पेसा उनीहरूको लागि ।उनीहरूको शारीरिक अवस्था अन्य सबल मानिसहरूको तुलनामा निकै कमजोर र फरक छ । उनीहरूले गुडाउने रिक्साको निम्ति विराटनगरको बाटो–घाटोको अवस्था पनि त्यति सहज छैन । अपाङ्ग शरीरले दिनहुँ जसो घाम, पानी, धुलो आदिको परवाह नगरेर घन्टौँ लगाएर आफ्नो गन्तव्यमा पुगी सामान तानेर फर्कनु चानचुन कुरा हैन । त्यति मात्र हैन ठाउँ–ठाउँमा हुने अबरोधको समस्या त छँदैछ ।
राज्यको नीतिले भन्सार नतिरी सामान ओसार पोसारको कामलाई वैधानिकता दिएको छैन । तैपनि मुजिद लगायत अन्य धेरै अपाङ्गता भएका मानिसहरू जोखिम मोलेर भएपनि यो पेशालाइ निरन्तरता दिँदै आएका छन् । आखिर किन त ? जवाफ स्पष्ट अनि सरल छ, पानी त्यतै बग्दछ जता ओरालो हुन्छ, त्यसैगरि समान सस्तो भएको ठाउँबाट महँगो भएतिर ओसारपसार हुने कुरापनि स्वाभाविक हो ।
‘यदि बस्तु तथा सामानहरू सहज रूपले सिमा पार गर्न पाएनन् भने सेनाले सिमा पार गर्नेछन् ।’ भनेर फ्रान्सेली अर्थ राजनीतिज्ञ फेडरिक बास्टियाटले भने झै बस्तु तथा सामानहरू सहजताका साथ सिमा पार गर्न पाएनन् भने बिचौलियाहरुले समान पार गराउनेछन, भन्ने कुरापनि त्यतिकै यथार्थपरक छ ।
यहाँ दोष ओसारपसारमा संलग्न मुजाहिद जस्ता व्यक्तिहरूको भन्दा पनि राज्यले अङ्गालेको नीतिको रहेको छ, जसले नेपाली उपभोक्ताहरूको निम्ति सामान महँगो बनाइ ओसारपसारमा लाग्न समेत अप्रत्यक्ष रुपमा प्रेरित गरिरहेको छ ।
नेपालको तुलनामा सिमापारि सामान धेरै सस्तो छ, जबकि विराटनगर लगायत यसका आसपासका गाउँ तथा सहर तिर तुलनात्मक रूपमा त्यही सामान महँगो पर्छ । र यो हामीकाहा यस कारण महँगो हुन पुग्यो किनकि नेपाल सरकारले ती आयातित बस्तुमाथि धेरै भन्दा धेरै भन्सार कर लगाउने नीति अवलम्बन गरेको छ ।
नेपाल जस्तो देश जहाँ रोजगारीको अभाव र आयआर्जनको स्थिति न्यून छ । मुजाहिद जस्ता व्यक्तिले सामान ओसारपसारमा जीविकोपार्जन र कमाइको अवसर देखेर जोखिम बहन गरी पारीको सस्तो सामान हामी उपभोक्ता माझ ल्याई पु¥याउने बिचौलियाको भूमिका निर्वाह गरिरहका छन्, जसलाई हामी तस्करको संज्ञा दिन्छौँ ।
अरूको पैसामा रजाइ गर्न रुचाएपनी आफ्नो गोजीको पैसा खर्च हुने अबस्थामा मानिसहरू बुद्धि र विवेकको प्रयोग गर्दछन् । आफ्नो पैसा खर्च हुने अवस्थामा हामीहरू सस्तो र राम्रो सामान खरिद गर्न प्रेरित हुन्छौ । त्यही भएर हामीले जतिसुकै स्वदेशी बजार प्रवर्धनको कुरा गरे पनि अन्ततः जोगवनी बजारमा बिस्कुट, तेल, चिनी, मार–मसला, लत्ता–कपडा आदि जस्ता दैनिक उपभोग्य सामाग्री लिन जाने नेपाली नागरिकहरूको भिडले यो कुरालाइ जाहेर गर्दछ ।
त्यही प्रेरणा मुजाहिद जस्ता व्यक्तिहरूबाट सामान खरिद गर्दा हामीमा हुन्छ । त्यसैले मुजाहिद लगायत यस पेसामा आबद्ध अन्य मानिसहरू हाम्रा निम्ति सेवा प्रदायकको हुन् भनेर भन्दा फरक नपर्ला, जसले हामीलाई सस्तोमा सामान उपलब्ध गराउनको निम्ति अप्रत्यक्षरुपमा सहयोग पुर्याइरहेका छन् ।
यस प्रक्रियालाई निरुत्साहित गर्नको निम्ति राज्यले धेरै भन्दा धेरै उत्पादकत्व क्षमता बढाई प्रतिस्पर्धामा जोड दिई सस्तोमा समान उपलब्ध गराउन सक्नुपर्दछ । बाहिरबाट आयातित हुने सामग्रीहरूमा लाग्ने भन्सार दरलाइ कम गरी त्यही सामान नागरिकहरूले आफ्नो देशमा सस्तो र सुलभ रूपमा खरिद गर्न सक्ने किसिमको वातावरण बनाउन नितान्त आवश्यक छ । जसले नेपाली उपभोक्ताहरूलाई सस्तो र सुलभमा बस्तु तथा सामनहरु उपलब्ध गराउन सहयोग गर्नुको साथै पैसा बचत गर्नको निम्ति सहयोग र्पुयाउने छ ।
यसले गर्दा मुजाहिद जस्ता ब्याक्तिहरुलाई यसरी ओसारपसार कार्यमा संलग्न हुन आर्थिक रुपमा निरुत्साहित गर्नेछ, साथै यस किसिमले हुने गरेको ओसारपसारलाइ करको दायरामा ल्याई राज्यले आर्थिक स्रोत सङ्कलन गर्न सक्नेछ ।
तर यो अवस्थाले मुजाहिदजस्ता ओसारपसारमा संलग्न व्यक्तिहरूको जीविकोपार्जन के हुन्छ ? यसले उनीहरूले आफ्नो पेसा छोड्नुपर्ने अवस्था पनि आउन सक्छ । तर यदि राज्यले उधमशीलतालाइ प्रोत्साहन गर्ने नीति अङ्गाली धेरै भन्दा धेरै नागरिकहरू स्वरोजगार बन्ने वातावरण तयार गरी रोजगारीको अवसर सिर्जना गर्ने हो भने, मुजाहिद लगायत अन्य धेरै नागरिकहरूको निम्ति मेहनत गरेर खाने अन्य अवासरका ढोकाहरू खुलेर जानेछन् । जसले गर्दा उनीहरू सधैँ यस किसिमको अपजसको काम गर्न बाध्य हुनुपर्ने छैन । साथै राज्यले पनि आर्थिक समृद्धि हासिल गरी मुजाहिद जस्ता धेरै नागरिकहरूको निम्ति आर्थिक तथा सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सक्नेछ ।
तर यदि राज्यले आफ्नो नीतिमा सुधार नल्याई यथास्थितिमै रहिरहने सोच राख्ने हो भने मुजाहिद जस्ता व्यक्तिहरूलाई पेसा गरीखान असहज बनाउनुको साथै, नेपाली नागरिकहरूलाई बढी मूल्यमा सामान खरिद गर्न बाध्य बनाइरहने छ जुन नीति देश र जनताको हितमा अवश्य छैन
ियस लेखको आशय अवैध रूपले सामान ओसारपसार गर्न पाउनु पर्छ भन्ने हैन । तर राज्यको नीतिले कसरी नागरिकहरूलाई बढी मूल्य तिर्न बाध्य बनाइ रहेको छ र सामान ओसारपसारलाइ प्रोत्साहन गर्दछ भन्ने कुरा दर्साउन मात्र खोजिएको हो । (लेखक: बसन्त अधिकारी/ विराटनगरका अभियानकर्मी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्