सुनसरी, २३ जेठ । विश्व वातावरण दिवसका अवसरमा काठमाण्डौमा प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडोको बिरुवा रोपेर फलफूलको बिरुवा रोप्ने अभियानको शुभारम्भ गर्दा सुनसरीको इटहरीमा भने मानिस नै रुख बिरुवा बनिदिए ।
काटिएका रुखका ठुटा भएका ठाउँमा रुखका हाँगा र पात देखे पछि बिहान स्थानीय बासिन्दा अचम्ममा परे ।
बुधबार बिहानै हातमा रूखका हाँगा बोकेका एक हुल युवा सडकमा निस्किए । इटहरीको मुख्य चोक हुँदै धरानको लाइनतर्फ अघि बढेका उनीहरूले जहाँ जहाँ काटिएका रूखका ठुटाहरू भेटे, त्यहीँ त्यहीँ हलचल नगरी रुखका हाँगा र पात लगाएर उभिए ।
केही दिनअघि सडक विस्तारको क्रममा इटहरीका हरियाली नै निमिट्यान्न हुने गरी सडक किनाराका रूख काटिएको थियो । यसैको विरोधमा इटहरी कलालयका विद्यार्थीले आफै रुख बनेर रचनात्मक विरोध प्रदर्शन गरेका हुन् ।
विश्व वातावरण दिवसको अवसरमा रूख र पर्यावरणको संरक्षण गर्न मानवीय विवेक गुमाउन नहुने भन्दै पर्फमिङ आर्टलाइ प्रयोग गरिएको नाट्यकर्मी एवंम कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले बताउनुभयो ।