प्रधानमन्त्री केपी शर्मा ओलीेको युरोप भ्रमण आजबाट

प्रधानमन्त्री केपी शर्मा ओलीेको युरोप भ्रमण आजबाट

काठमाडौँ, जेठ २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीे युरोप भ्रमणका लागि शनिबार अपराह्न त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । उक्त भ्रमण दुई पक्षीय हितमा केन्द्रित हुने प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।  प्रधानमन्त्रीको युरोप भ्रमणको पूर्वसन्ध्यामा शुक्रबार गोरखापत्रसँग कुरा गर्नुहुँदै डा. भट्टराईले प्रधानमन्त्रीको भ्रमणले बेलायत, स्विजरल्यान्ड र फ्रान्ससँगको सम्बन्धका आधार र सहकार्यलाई प्राथमिकतामा राख्ने प्रष्ट पार्नुभयो ।

“हाम्रो विकासलाई पुँजी, प्रविधि र ज्ञानको आवश्यकता छ, सोहीअनुसार सहयोग लिन यो भ्रमण फलदायी हुनेछ” उहाँले भन्नुभयो ।
भ्रमणको क्रममा नेपालले लामो राजनीतिक सङ्क्रमण अन्त्य गरेको अवस्था र नयाँ संविधान जारी गरेपछिको अवस्थाबारे पनि प्रधानमन्त्री ओलीले जानकारी गराउनुहुने डा. भट्टराईले बताउनुभयो । ‘बेलायसँगको हाम्रो सम्बन्ध सन् १९४७ को सन्धिले निर्देशित गर्छ । मलाई लाग्छ यसमा तलमाथि हुँदैन’् उहाँले भन्नुभयो । पेरिसमा पनि उच्च तहको भेटवार्ता हुने उहाँले जानकारी दिनुभयो
सरकारले संयु्क्त राष्ट्रसङ्घको वडापत्र, पञ्चशीलको सिद्वान्त, असंलग्न परराष्ट्र नीति, पारस्परिक लाभ र राष्ट्रिय स्वार्थका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने डा. भट्टराईले बताउनुभयो । नेपालले राष्ट्रिय हितको आधारमा निर्णय लिने बताउनुभयो ।
भ्रमणमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, सांसद विन्दा पाण्डे, परराष्ट्र सचिव, श्रम तथा रोजगार मन्त्रालयका सचिव लगायतको सहभागिता रहने डा. भट्टराईले बताउनुभयो ।
प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना हुन अन्तर्र्रािष्ट्रय श्रम सङ्गठन(आईएलओ)को शतवार्षिकीको अवसरमा चौथो वक्ताकारुपमा सम्बोधन गर्नुहुनेछ । त्यस समारोहमा ४० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहेन छ ।
जेनेभामा रहँदा ‘साइडलाइन’मा प्रधानमन्त्रीले केही द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ । त्यस्तै जेठ २७ साँझदेखि नै प्रधानमन्त्रीले बेलायतको भ्रमणमा निस्किनु हुनेछ । जेठ २९ गतेसम्म बेलायतको भ्रमण गर्नुहुने कार्यक्रम रहेको उहाँको परराष्ट्र मामिला सल्लाहकार डा. भट्टराईले बताउनुभयो ।
प्रधानमन्त्रीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा जेठ २७ गते साँझ आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस अवसरमा बेलायतमा केही उच्चस्तरीय भेटघाट प्रधानमन्त्रीको हुनेछ ।
त्यस्तै, प्रधानमन्त्री ओलीले बेलायतको भ्रमणपछि जेठ २९ देखि ३१ गतेसम्म फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने छ । सो अवसरमा प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बेलायतसँग नेपालका युगौँ पुरानो सम्बन्धबारे सिंहावलोकन गर्नुका साथै सम्बन्धलाई नयाँ उचाइमा लग्ने भन्ने विषयमा केही समझदारीहरू हुने बताइएको छ । त्यस्तै बेलायतमा कार्यरत ब्रिटिस गोरखा सैनिकको विषयमा पनिे छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्