काठमाडौं जेठ २५ । १० औं कोरियाली भाषा परीक्षा आजबाट सुरु भएको छ ।भाषा परीक्षामार्फत दक्षिण कोरिया जाने नेपालीका लागि भाषा परीक्षा सुरु गरिएको हो । यो वर्ष ईपीएस परीक्षाका लागि ९२ हजार ३ सय ७६ जनाले आवेदन दिएका थिए ।
यसमध्ये औद्योगिक क्षेत्रमा ६३ हजार ४ सय ८७ जना र कृषि तथा पशुपालनतर्फ २८ हजार ८ सय ८९ जनाले फारम भरेको ईपीएस कोरिया शाखाले जनाएको छ ।
कोरियाको भाषा परीक्षामा गत वर्ष ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए । आज र भोलि हुने परीक्षा काठमाडौं र पोखराका विभिन्न ३२ केन्द्रमा सञ्चालन हुनेछ ।शाखाले भाषा परीक्षाका लागि काठमाडौंमा २८ र पोखरामा ४ वटा केन्द्रको व्यवस्था गरेको छ ।
सन् २००८ बाट नेपाली कामदार लैजान सुरु गरेको दक्षिण कोरियाले यो वर्ष हालसम्मकै सबैभन्दा बढी १० हजार ५० नेपाली कामदार लैजाने घोषणा गरिसकेको छ ।कोरियाले यसवर्ष उत्पादनतर्फ ७ हजार ५० र कृषि र पशुपालनतर्फ ३ हजार नेपाली कामदार लैजाने छ ।
भाषा परीक्षाको नतिजा असार १३ गते प्रकाशन गर्ने ईपीएस शाखाले जनाएको छ ।