पूर्वमन्त्री गोविन्दराज जोशीको फाइल खोज्दै अख्तियार

पूर्वमन्त्री गोविन्दराज जोशीको फाइल खोज्दै अख्तियार

काठमाडौँ,  २७ जेठ । सर्वोच्च अदालतको आदेश अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोविन्दराज जोशीसँग सम्बन्धित मुद्दाको मिसिल खोज्ने कार्यलाई तीव्रता दिएको छ । अख्तियारले केही उच्च अधिकारीको प्रत्यक्ष निगरानीमा फाइल खोजी कार्य अगाडि बढाएको हो । फाइलबारे पूर्व कर्मचारीसँग समेत अख्तियारले सोधपुछ गर्ने तयारी गरेको छ ।
जेठ २३ गते सर्वोच्चले १५ दिनभित्र मिसिल पठाउन आदेश गरेको थियो । पाँच वर्षसम्म पनि मिसिल प्राप्त नभएको भन्दै अदालतले अख्तियार सचिवलाई अदालतको अपहेलनामा कारबाही किन नगर्ने भन्दै जवाफ समेत माग गरेको थियो । जवाफ पेससँगै फाइल पनि पेस गर्न आदेश दिएको थियो ।
अदालतको आदेश प्राप्त भएपछि अख्तियारले फाइल खोजीलाई तीब्र पारेको हो । अख्तियारका सहसचिव कालीप्रसाद पराजुलीले आन्तरिक रूपमा फाइल खोजबिनको कार्यलाई प्राथमिकतासाथ अगाडि बढाइएको जानकारी दिए ।
भ्रष्टाचार अभियोगमा विशेष अदालतले दोषी ठहर गरेपछि जोशी र नेपाल सरकार दुबै पक्षले सर्वोच्चमा पुनरावेदन गरेका थिए । पुनरावेदन परेपछि सर्वोच्चले मुद्दा चलाउने निर्णयको रजिस्टर र सक्कल मिसिल माग गरेको थियो ।
अदालतले २०७१ भदौ २९ गते आदेश गरेको थियो । आदेशको लामो समयसम्म जवाफ नपठाएको अख्तियारले २०७१ कात्तिक २ गते निर्णय सम्बन्धी कागजात अभिलेखमा नभेटिएको जवाफ पठाएको थियो । त्यस समयमा अख्तियारमा लोकमानसिंह कार्की प्रमुख आयुक्त हुनुहुन्थ्यो ।
सर्वोच्चले माग अनुसार कागजात नपाएपछि पुनः २०७३ भदौ २० गते मिसिल सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको थियो । सोको जवाफ लेख्दै अख्तियारले असोज २ गते मिसिल खोजतलास भइरहेको पत्राचार गरेको थियो । सर्वोच्चको पछिल्लो आदेश अनुसार अख्तियारले फाइल खोज्ने प्रक्रियालाई तिव्रता दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्