बिराटनगरका दिवस र उनको साथीको व्यवसायबाट मासिक लाखौ आम्दानी !

बिराटनगरका दिवस र उनको साथीको व्यवसायबाट मासिक लाखौ आम्दानी !

तपाईँलाई कुनै सामान अथवा कागजपत्र एकबाट अर्को ठाउँमा पठाउनुपर्‍यो भने कसरी पठाउनुहुन्छ? वा भनौँ साथीलाई उपहार पठाउनु पर्‍यो तर साथीको बसाई निकै टाढा छ। टाढा हुँदा सन्देश पुर्‍याउन सजिलै सकिने प्रविधिको त विकास भयो तर नेपालमा सामान आदानप्रदान गर्नको निम्ति भने सन्तोषजनक समाधान अझै आउन सकेको छैन। लामो समय देखि नेपालमा यस्तो कामको जिम्मा कुरियर कम्पनीहरूले लिँदै आएका छन्।

यद्दपी यस्ता कम्पनीहरूबाट सामान पठाउँदा वा प्राप्त गर्दा धेरै समय लाग्ने, सामान नपुग्ने, महँगो हुने जस्ता समस्याहरू धेरैलाई महसुस हुने गरेको भेटिन्छ। त्यस्तै ‘पठाएको सामान सकुशल पुग्ला त?’ भन्ने शङ्का पनि धेरैलाई मनमा परिरहने हुनसक्छ।

हरेक क्षेत्रमा समस्या हुन्छन्। भनिन्छ, समस्याले उपाय जन्माउँछ। उपायले नयाँ उद्यमी जन्माउँछ। यही सामान आदानप्रदानको विषयमा खोजी गर्दा देखा परेका समस्याहरू समाधान गर्ने निर्णय लिएर दिवस दाहालले उनका साथी प्रज्वल थापासँग मिलेर फास्ट मुभर्स प्रा.लि को स्थापना गरेका छन्।

दिवस विराटनगरका हुन्। विराटनगरमा स्नातकसम्मको पढाइ सकेर आफ्ना साथी प्रज्वलसँग भारतमा चार्टर्ड अकाउन्टेन्ट पढ्न भनी उनी लागेका थिए। पढाइ सँगसँगै उनले धेरै कम्पनीहरूमा काम पनि गरे। अनलाइनबाट गरिने कामहरू, अडिटका कामहरू र कुरियर सम्बन्धी कामहरूको ज्ञान उनमा बढ्दै गयो। तर आफ्नो देशमा बसेको जस्तो त कसैगरी उनीहरूलाई भएन। घरपरिवारबाट टाढा हुनुको दुख  र समस्याहरूले दिनैपिच्छे उनीहरूलाई पिरोल्थ्यो। उनीहरू भारत बस्न थालेको पनि ६ वर्ष बढी भइसकेको थियो। अब आफ्नै देशमा दुखसुख केही उद्यम गर्नुपर्छ भन्ने उनीहरूलाई लाग्यो। यो सोचका साथ उनीहरू नेपाल फर्किए।

उनीहरू काठमाडौँ आए। त्यहाँको कुरियर सम्बन्धी अवस्था बुझे। कुरियर सेवा दिने कम्पनीहरू ३ देखि ४ वटा भेट्टाए तर सेवा निकै महँगा। यस क्षेत्रलाई व्यवस्थित र सस्तो बनाइयो भने उनीहरूले आफू लगायत सबैलाई सजिलो हुने देखे। देशका विभिन्न ठाउँहरूमा सामान आदानप्रदानलाई सजिलो बनाउने उद्देश्य लिएर उनीहरूले फास्ट मुभर्स सुरु गरे।

सुरुमा काठमाडौँको अनामनगरमा एउटा कोठा लिए। सुरुवाती लगानीको निकै समस्या भयो। साथीहरूसँग ब्याजमा पैसा लिएर नै सुरु गरे। १२ जना जति कर्मचारीहरू भए। काम त चल्दै थियो तर एउटै कोठामा अफिसको सारा काम हुने भएकाले निकै समस्या पर्न थाल्यो। सामानहरू हराउन थाले। अब ठाउँ बढाउनु पर्ने भयो। त्यसपछि अफिसका लागि एउटा फराकिलो ठाउँ खोज्न उनीहरू बाध्य भए। अनामनगरबाट नजिकै थापागाउँमा ५ कोठे फ्ल्याट खाली भएको थाहा भएपछि उनीहरू त्यहाँ सरे। उनीहरू दुई जनाको फास्ट मुभर्स यात्रामा तेस्रो सदस्य रक्षा के.सी पनि थपिन आइन्। रक्षा निकै अनुभवी थिइन्। उनको सल्लाह बमोजिम काम गर्दै जाँदा फास्ट मुभर्सको प्रगति पनि फास्ट हुँदै गयो।

ठाउँको समस्या अझै सक्किएको थिएन। ५ कोठे फ्ल्याटमा पनि सबै सामान अटाउन धौधौ नै थियो उनीहरूलाई। त्यस कारण उनीहरूले भीमसेनगोलामा १० कोठा र एउटा हल सहितको घर नै लिए। पुर्‍याउनु पर्ने सामान राख्ने, हिसाबकिताब राख्ने, रिसेप्सन लगायतका सबै विभागहरूका लागि कोठाहरु छुट्टिए। अब धेरै समस्याहरू पन्छिसकेका थिए। सुरुको ३-४ महिना सम्म त आफ्नै पैसाले कर्मचारीहरूलाई तलब दिनुपर्ने अवस्था पनि नआएको होइन। तर उनीहरूको साहस र दृढ विश्वासले गर्दा आज फास्ट मुभर्स निकै अगाडी पुगिसकेको छ।

 

अहिले ५० कर्मचारीहरूका साथ उनीहरू देशका ३५ विभिन्न सहरहरूमा आफ्ना सेवाहरू दिँदै आएका छन्। कर्मचारीहरू मध्ये रात (९-१० बजे) सम्म काम गर्ने ३ जना कर्मचारीहरू पनि रहेका छन्। उनीहरूलाई बस्नका लागि अफिसमा नै कोठा दिइएको छ। काठमाडौँ, विराटनगर, पोखरा, चितवन, राजविराज, बिर्तामोड, हेटौंडा र बुटवल गरी ८ वटा जिल्लाहरूमा उनीहरूले आफ्नो कम्पनीको शाखा खोलेका छन्। उनीहरू सामान लिन ग्राहकको घरमै जाने गरेका छन्। बोलाएको ठाउँमा पुग्नका लागि छुट्टै कर्मचारीहरू राखिएका छन्। उनीहरू मोटरमा सामान लिन जान्छन्। सामान ल्याएर एउटा कोठामा जम्मा गर्छन् र उपत्यका भित्र हो भने मोटरमा र बाहिर हो भने हवाईजहाजमार्फत सामानहरू पुर्याउछन्। यस कामका लागि लाग्ने मोटर र खाना खर्च अफिसले नै दिने गरेको छ।

सामान्यतया उनीहरूले १ देखि ५ के.जी सम्मका सामानहरू ल्याउने पुर्‍याउने गरेका छन्। उनीहरूले उपत्यका भित्र वा रिंगरोड देखि ४ किलोमिटर भित्र हो भने ८५ रुपैयाँमा सेवा दिँदै आएका छन्। त्यस्तै ४ किलोमिटर भन्दा बढी भएमा १०५ रुपैयाँमा नै पुर्‍याउने गरेका छन्। धेरै सामान पुर्‍याउनु पर्ने छ भने छुटको व्यवस्था पनि गरिएको छ। त्यसै गरी भर्खर सुरु गरेको कम्पनीहरूसँग कारोबार गर्दा पनि छुट दिने गरेको दिवस बताउँछन्। मार्केटिङका लागि उनीहरूले  फेसबुक पेज पनि बनाए। पेजमार्फत उनीहरूले छोटो समयमै थुप्रै ग्राहकहरू बनाउन सके। उनीहरूले मार्केटिङका लागि धेरै दुख पनि गर्नु परेन। राम्रो र सस्तो भएका कारण नै होला फास्ट मुभर्स छोटो समयमा नै चर्चित हुन पुग्यो।

अहिले बैङ्कहरूबाट, अनलाइन किनिएका सामाग्रीहरू, विभिन्न साना तथा ठुला कम्पनीहरूबाट दिनहुँ फास्ट मुभर्समा फोनहरू आउँछन्। हरेक दिन ४०० देखि ५०० सामाग्रीका पार्सलहरू आउने गरेको छ। त्यी मध्ये ९०% काम अनलाइन किनिएका सामानहरू पुर्‍याउनु पर्ने नै हुन्छ। यसरी अहिले दिनको कम्तीमा ४०,००० रुपैयाँ आम्दानी गर्ने गरेको दिवस बताउँछन्। कमाइ राम्रो भएतापनि अहिले उनीहरूले बचत भने गर्न सकेका छैनन्। सबै पैसा अफिसकै काममा खर्च हुने गरेको उनीहरू बताउँछन्।

फास्ट मुभर्स सुरु गरिएको एक वर्ष पूरा भएको छ। समस्याहरू धेरै आए र केही समस्याहरू अझै पनि छन्। तर यी समस्याहरूले फास्ट मुभर्सको गतिलाई असर पारेको छैन। अबको एक वर्षमा ३५ जिल्लाहरूमा मात्र नभएर देशैभरी आफ्ना सेवाहरू बाढ्ने उदेश्यका साथ फास्ट मुभर्सको टिम लागि परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्