बर्षा शुरु नहुँदै पुर्बी पहाडमा पहिरो समस्या, सडक अवरुद्ध हुँदा यात्रुहरू मारमा

बर्षा शुरु नहुँदै पुर्बी पहाडमा पहिरो समस्या, सडक अवरुद्ध हुँदा यात्रुहरू मारमा

ताप्लेजुङ,  ४ असार । ताप्लेजुङको सिरिजंघा गाउँपालिकास्थित सिनाममा वर्षापछि झरेको पहिरोका कारण सडक अवरुद्ध भएको छ । सिनाम र आम्बेगुदिन जोड्ने नेबुखोला नजीकै शनिवार भरेको पहिरोले सडक बगाएपछि यात्रुहरू मर्कामा परेका छन् ।

पहिरोले करीब २० मिटर सडक बगाएको स्थानीय भीम थेबेले बताए । सडक बगाएपछि झापाबाट आम्बेगुदिन, तेल्लोक लगायत ठाउँमा जाने सवारीसाधन सिनाममा रोकिएका छन् । यस्तै यहाँबाट बाहिरिने सवारीसाधन समेत सिनामबाट मात्र चल्ने गरेका छन् । आम्बेगुदिनको हप्पुखोला, सिरिजंघा गाउँपालिकाको केन्द्र तेल्लोकमा सवारीसाधन जान नसकेपछि गाडी चढ्न यात्रुहरू घण्टौं हिँड्नुपर्ने बाध्यता छ ।

तेल्लोकबाट सिनाम आइपुग्न करीब ३ घण्टा हिँड्नुपर्छ भने हप्पुखोलाबाट डेढ घण्टा लाग्छ । साविकका याम्फुदिन, मामांखे, खेवाङ गाविसबाट गाडी चढ्न आउने यात्रुलाई झनै समस्या भएको छ । सधैं घरबाट हिँडेकै दिन गाडी चढ्न पाउने गरे पनि अहिले सिनामसम्म आउनुपर्दा गाडी भेट्न मुश्किल हुने र एक दिन सिनाममै वास बस्नुपरेको गुनासो स्थानीयले गरेका छन् । ४ दिनदेखि बाटो अवरुद्ध बने पनि पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भने कसैबाट नभएको स्थानीयले बताएका छन् ।

गतवर्ष समेत सोही ठाउँमै झरेको पहिरो पन्छाउन ५ लाखभन्दा बढी खर्च गरेको सिरिजंघा गाउँपालिकाले अहिले झरेको पहिरो पन्छाउने तयारी गरेको छ । दिनहुँजसो ठूलो वर्षा भइरहेको र अझै पनि पहिरो झरिरहेकाले तत्काल बाटो खुलाउन नसकिएको गाउँपालिकाका अध्यक्ष टीका गुरुङले बताए । उनका अनुसार वर्षा कम भएपछि पहिरो हटाउने प्रयास गरिनेछ । ‘ठूलो पहिरो झरेकाले तत्काल बाटो खुल्ने सम्भावना कम छ,’ उनले भने । भौगोलिक हिसाबले यहाँको सडक दिगो समेत नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्