प्रधानमन्त्री रोजगार कार्यक्रम झापामा प्रभावकारी : औजार बोकेर गाउँगाउँ पुगे युवा

<span class='c1'>प्रधानमन्त्री रोजगार कार्यक्रम झापामा प्रभावकारी :</span> <span class='c2'>औजार बोकेर गाउँगाउँ पुगे युवा</span>

भद्रपुर, असार ६ गते । नेपालमा पहिलोपल्ट बेरोजगारहरुलाई ‘कामका लागि पारिश्रमिक’ दिने गरी शुरु गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ झापामा प्रभावकारी देखिएको छ । पहेँलो हेल्मेट र ज्याकेट लगाएका युवाहरु औजार बोकेर निर्माणका काममा खटिँदा गाउँगाउँमा विकासको जागरण फैलिएको छ ।

झापामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारप्राप्त जनशक्तिलाई विद्यालयको रङरोगन, धार्मिक पर्यटकीयस्थलको सरसफाइलगायतका काममा परिचालन गरिएको छ । जिल्लाका १५ स्थानीय तहमध्ये आठ नगरपालिका र छ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत यस वर्ष दुई हजार ७५३ ले रोजगारी प्राप्त गरेका छन् । गौरीगञ्ज गाउँपालिकाले भने तथ्याङ्क सङ्कलन कार्य भइरहेको जनाएको छ ।

झापाका आठ नगरपालिकामध्ये सबैभन्दा सानो कनकाईले सबैभन्दा धेरै ९४६ लाई रोजगारी प्रदान गरेको छ । रोजगारीका लागि आवश्यक मापदण्ड पूरा गरी निवेदन दिन आएका कसैलाई पनि रोजगारी पाउने हकबाट वञ्चित नगरिएको नगरका प्रमुख राजेन्द्रकुमार पोखरेल बताउनुहुन्छ । कनकाई नगरपालिकाले कोटीहोम, धनुषकोटीधामलगायतका धार्मिक पर्यटकीयस्थलमा सरसफाइ, टहरा निर्माण, वृक्षरोपणलगायतका काममा उनीहरुलाई परिचालन गरिएको नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो ।

झापाको सात गाउँपालिकामध्ये बुद्धशान्तिले सबैभन्दा बढी १४० लाई रोजगारी प्रदान गरेको छ । बुद्धशान्ति गाउँपालिकाले सरकारले तोकिएको दैनिक ज्याला रु ५१७ मा गाउँपालिकाका तर्फबाट रु ५० थपेर ज्याला प्रदान गरेको अध्यक्ष रमेश भुजेल बताउनुहुन्छ ।

हल्दिबारी गाउँपालिकाले ६२ लाई रोजगारी प्रदान गरेर विद्यालयको रङरोगन कार्यमा खटाएको छ । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले स्थानीय १७ सामुदायिक विद्यालयमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रङरोगनकार्य धमाधम भइरहेको जानकारी दिनुभयो । रङरोगन सकेपछि उनीहरुलाई हुलाकी राजमार्गको दुवै किनारमा वृक्षरोपण गर्न लगाउने योजना रहेको उहाँले बताउनुभयो ।

कमल गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी पाएकालाई नदी कटान रोक्ने बाँध निर्माणमा खटाएको छ । गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले उनीहरुलाई गाउँपालिका कार्यालयको पर्खाल र रिङरोडलगायतका सार्थक निर्माण काममा लगाइएको बताउनुभयो । झापाका नगरपालिकामा, कनकाईमा ९४६, मेचीनगरमा २५२, अर्जुनधारामा २७०, भद्रपुरमा १४९, विर्तामोडमा १८९, शिवसताक्षीमा १४४, गौरादहमा १२५ र दमक नगरपालिकामा १७६ ले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी पाएका छन् । गाउँपालिकामा बुद्धशान्तिमा १४०, बाह्रदशीमा ७२, कमलमा ८३, कचनकवलमा ८३, हल्दिबारीमा ६२ र झापामा ६२ ले रोजगारी पाएका छन् ।

राज्यको ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले निकै ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दैै अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले रोजगारी पाउनेमा आधाभन्दा बढी महिला भएको बताउनुभयो । आर्थिक वर्षको अन्त्यतिर मात्र कार्यक्रम लागू भएता पनि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी पाउँदा बेरोजगारहरु उत्साहित भएको मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य टीकाराम मग्राती बताउनुहन्छ । पहेँलो हेल्मेट र ज्याकेट लगाएर तातोघाम र झरी नभनी काममा खटिएका पुरुष तथा महिला कामदारलाई सर्वसाधारणले समेत गाउँगाउँमा स्वागत र सम्मान गर्न थालेका छन् ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सबै स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरेको छ भने कतै रोजगारी नपाएकाहरुले वडा कार्यालयमार्फत आ–आफ्नो नगर तथा गाउँपालिकामा बेरोजगारको सूचीमा नाम दर्ता गराएका छन् ।

बेरोजगारहरुले निवेदन दर्ता गर्दा नै काम रोज्न पाउने व्यवस्था मिलाइएको कनकाई नगरपालिकाका रोजगार संयोजक सरोज मैनाली बताउनुहुन्छ । निरक्षरदेखि स्नातकोत्तर तह उत्तीर्ण गरेका व्यक्तिहरुसमेत प्रधानमन्त्री रोजगार कार्यक्रममा काम पाउनका लागि निवेदन दिन आउनुभएको उहाँ बताउनुहुन्छ ।

रोजगार पाउनेहरुले दैनिक रु ५१७ ज्याला पाउने सरकारी व्यवस्था रहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि गाउँ तथा नगरका भित्री कच्ची सडक र पर्यटकीय तथा सार्वजनिकस्थलमा रहेको झाडी–फोहर सरसफाइ भएकाले चिटिक्क देखिन थालेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्