इलाम,८ असार । सूर्याेदय नगरपालिकाको बेखी र मेची राजमार्ग जोड्ने बाइपास कच्ची सडक स्तरोन्नतिको काम सकेर ठेकेदार कम्पनीले नगरलाई जिम्मा दिन खोज्यो। नगरपालिकाका जनप्रतिनिधिसहित प्राविधिकको टोलीले आयोजना निरीक्षण ग¥यो। ठेकेदारको काम ‘चित्त नबुझेपछि’ नगरले सबै भत्काएर फेरि निर्माण गर्न लगायो। त्यसपछि सडकमा नाली निर्माण, सोलिङ र ग्राभेलको काम गुणस्तरीय भएको छ।
वडा नं. ५ र १४ मा भएका सडक निर्माणका काममा पनि त्यही प्रक्रिया दोहोरियो। निर्माणकर्ताले काम सकेको भन्दै अन्तिम भुक्तानी लिन खोज्दा नगरले अनुगमन ग¥यो। निर्माणमा चित्त नबुझेपछि काम दोहो¥याउन लगाइयो। नगरको चेतावनीपछि ती सडकको काम पनि सुधारियो। गुणस्तरीय सडक निर्माण भए। यी दुई उदाहरण हुन्। नगरको लगानीमा चालू आर्थिक वर्ष २०७५/७६ मा वडा–वडामा सञ्चालन भएका विकासे कामको जनप्रतिनिधि र प्राविधिकले अनुगमन गरिरहेका छन्।
मेयर रणबहादुर राईको सक्रियताका कारण अनुगमन प्रभावकारी बनेको छ। उपप्रमुख संयोजकत्वको योजना अनुगमन समितिले विकासे कामको नियमित अनुगमन गरिरहेकै छ। तर फुर्सद मिल्ने र अरू कुनै कार्यक्रममा जाँदा बाटो मिल्ने भए मेयर आफैं अनुगमनमा पुग्छन्, काम कस्तो हुँदैछ हेर्छन्, चित्त नबुझे तुरुन्त पुनर्निर्माण नै गराउँछन्।
आफ्नो काममा हुने गरेका आलोचना र टिप्पणी हत्तपत्त स्विकार्न नचाहने जनप्रतिनिधिका कारण देशका कतिपय स्थानीय तहमा ‘तनाव’ छताछुल्ल भइरहेको छ। तर सूर्याेदयका मेयर भने गुणस्तरहीन आयोजनाको कामबारे उजुरी गर्न आफैं नगरवासीलाई आह्वान गरिरहेका छन्, हौस्याइरहेका छन्।