नक्कली मायामा सैनिक जवानकाे साढे ४ लाख स्वाहा!

नक्कली मायामा सैनिक जवानकाे साढे ४ लाख स्वाहा!

काठमाडौँ, ११ असार । दोलखा शैलुङका २४ वर्षीय हरिबहादुर कार्कीलाई फेसबुकमा सुन्दर तस्बिर भएकी अपरिचित केटीले फ्रेन्ड रिक्वेस्ट पठाइन्। उनलाई गाउँकै कल्पना बस्नेत भुजेलले फेसबुक म्यासेन्जरबाट उकासिन, ‘केटी राम्री छे। अघि बढ्दा हुन्छ।’

केटीले औधी मन पराउने कुरा कल्पनाले बताएपछि अविवाहित हरि मख्ख परे। उनीहरुबीच केही महिनासम्म लगातार सामाजिक सञ्जाल र फोनमा कुरा भयो। मायाप्रिती चलिरहेकै बेला एक दिन कल्पनाले सुनको लकेट ल्याएर हरिलाई दिँदै भनिन्, ‘तिम्री मायालुले पठाइदिएको।’

मायालुबाट उपहार पाएपछि हरि त्यसै खुसी भए । माया झागिँदै गएका बेला एकदिन कल्पनाले भनिन्, ‘तिमीलाई माया गर्ने केटी दुर्घटनामा परी घाइते भएर अस्पतालमा उपचार गराइरहेकी छे । उपचार खर्च पठाइदिनुस्।’

हरिले केही नसोची पटक–पटक गरेर मनी ट्रान्सफरमार्फत् ४ लाख ५५ हजार रुपैयाँ उपचार खर्च पठाइदिए । खर्च पठाइरहे पनि उनले माया गरेकी केटीसँग कुरा गर्न पाएनन्।

हरिले एकदिन कल्पनालाई भने, ‘माया गर्ने केटीलाई भेट्नुपर्‍यो।’ त्यसपछि कल्पना तर्किन थालिन् । कल्पनाले एकदिन सुनाइन्, ‘तिमीलाई माया गर्ने केटीको त उपचारको क्रममा भारतमा मृत्यु भयो।’

त्यसपछि हरिलाई लाग्यो, कतै मायाको खेल नक्कली त थिएन? हरिले महानगरीय प्रहरी अपराध महाशाखामा घटनाको विवरण टिपाए । प्रहरी अनुसन्धानबाट खुल्यो, २३ वर्षीय कल्पनाले नै नक्कली फेसबुक आइडी खोलेर हरिसँग मायाको नाटक पनि गर्ने दोहोरो भूमिका खेलेकी रहिछन्।

महाशाखाका एसपी सुशीलसिंह राठौरले यो ठगीको अनौठो घटना भएको सुनाए। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

राठौरका अनुसार कल्पनाले ठग्नकै निम्ती सुनजस्तै देखिने नक्कली सिक्री किनेर मायालुले पठाइदिएको भनेर हरिलाई दिएको तथ्य खुलेको बताए । प्रहरीले कल्पनालाई भक्तपुरको बालकोटबाट पक्राउ गरी ठगी मुद्दामा कारबाही अगाडि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्