भयावह बन्दै मेयर-उपमेयर विवाद, नगर र गाउँसभा प्रभावित

भयावह बन्दै मेयर-उपमेयर विवाद, नगर र गाउँसभा प्रभावित

जनकपुर,१३ असार । पछिल्लो समय मेयर र उपमेयर विवादको कारण प्रदेश २ का केही नगर र गाउँसभा नै प्रभावित भएको छन्। जनप्रतिनिधिबीचको विवादले कार्यालयले दिने सेवा समेत प्रभावकारी हुन सकेको छैन।
मेयर र उपमेयरसहित जनप्रनिधिकै विवादका कारण महोत्तरीको गौशला, औरही र रामगोपालपुरको नगरसभा हुन सकेको छैन।

गौशाला नगरपालिकाको नगरसभाका लागि प्रमुख अतिथि, मेयर, उपप्रमुख, जनप्रतिनिधि गरी सय जनाभन्दा बढी कार्यक्रमस्थलमा उपस्थित थिए। प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पानसमा बत्ती बालेर सभा उद्घाटन पनि गरे। राष्ट्रिय गान र सहिदको नाममा मौनधारण जस्ता औपचारिकता समेत पूरा गरियो।

नगरसभामा न त नीति तथा कार्यक्रम प्रस्तुत गरियो, न त बजेट नै पेस भयो। त्यसको सट्टा केही निजी विद्यालयका छात्राले नाचगान गरे। कार्यक्रम सकियो।

गौशाला नगरपालिकाको नगरसभामा मंगलबार उद्घोषणा थालिएसँगै भाँडभैलो सुरु भएको थियो। उद्घोषक वडा १ का सचिव रामकुमार यादवले मञ्चमा आसन ग्रहणका लागि नाम बोलाउँदा मर्यादाक्रमलाई ख्याल नगरेको भन्दै उपमेयर आशा लामाले विरोध जनाइन्। मेयर शिवनाथ महतोले सभाध्यक्षका रूपमा आसनग्रहण गरेको निकै बेरपछि मात्रै लामालाई मञ्चमा बोलाइएको थियो।

मेयर लगत्तै उपमेयरलाई नबोलाइएको विरोधमा उनले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न मानिनन्। जबकि उनी १२ पृष्ठको नीति तथा कार्यक्रम प्रस्तुत गर्न तयारीसहित आएकी थिइन्। उपमेयरले आफ्नो मर्यादाको अपमान भएको भन्दै आपत्ति जनाएपछि उनलाई वडाध्यक्षहरूले पनि साथ दिएका थिए।

वडाध्यक्षले विरोध गरेपछि उद्घोषक फेरिए पनि सभा अघि बढ्न सकेन। मेयर–उपमेयर दुवै नेकपाकै हुन्। सभाको अध्यक्षता गरिरहेका मेयर महतोले नगरपालिका क्षेत्रमा पर्ने आधा दर्जन नदीमा भइरहेका अवैध उत्खनन रोक्न कडा कदम उठाउने प्रतिबद्धता जाहेर गर्दै नगरसभा स्थगित भएको घोषणा गरे। अर्को नगर सभा बस्ने मिति तोकिएको छैन।

रामगोपालपुर नगरपालिकाको कार्यालयमा तालाबन्दी  
नगरपरिषदको पूर्वसन्ध्यामा महोत्तरीको रामगोपालपुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरियो। सोमबार उपमेयर सिता देवीले गाडीको विषयमा असन्तुष्ट जनाउदै कार्यालयमा तालाबन्दी गरेकी हुन्।

आफूले चढ्ने गाडीमाथि मेयर अशोक कुमार मण्डलले कव्जा जमाएको र सोही कारण नगर योजना तर्जुमा कार्यक्रम अगाडी बढ्न नसकेको तथा मेयर अशोक कुमार मण्डलले केही वडाअध्यक्षसँग मिलेर मनपर्दी रुपमा कर उठाउँदै आएकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको उपमेयर सितादेवी साहले बताईन्।

त्यस्तै नगरप्रमुखका स्वकीय सचिव रामजानकी मण्डलले उपमेयरको अधिकारमाथि हस्तक्षेप गरेको र यस सम्बन्धमा नगरप्रमुखले चासो नलिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उपमेयर साहले बताईन्।

कार्यालयका कर्मचारीले अटेरी गरेको भन्दै नगरप्रमुखले छलफल गर्न नमान्दा बाध्य भएर तालाबन्दी गर्नुपरेको उपमेयर साहको भनाई रहेको छ। न्याय नपाएसम्म नगरपालिकामा तालाबन्दी जारी रह्ने उपमेयरले बताईन्।

यता सरकारी गाडीलाई उपमेयर सितादेवीले निजी काममा प्रयोग गर्दै आएकोले आफूले रोक्न खोज्दा विवाद उग्ररुप लिएको नगरप्रमुख अशोक कुमार मण्डलले बताएका छन्।

उपमेयरले आफ्नो छोराको विवाह प्रायोजनका लागि गाडी दुरुपयोग गरेको नगरप्रमुख मण्डलले बताए।

यता सोमबार नगरपालिकाको मुलगेटमा ताला लागेपछि असार १० गते हुने भनिएको रामगोपालपुर नगरपालिकाको नगरपरिषद् नहुने निश्चित बनेको छ।

औरही नगरपालिका उपमेयरले तोडिन् आफ्नै कार्यालय 
महोत्तरीको औरही नगरपालिकाको कार्यालयभित्र पुगेर उपमेयरले नै तोडफोड मच्चाएकी छन्। असार ७ गते राती तोडफोड गरिएको हो। औरही नगरपालिका उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालय भित्र तोडफोड गरेको बताइएको छ।

तोडफोडको क्रममा योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई शाखामा दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान विधुतीय मल्टिप्लग बोर्डमा क्षति पुगेको छ।

इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिबार साँझको समयमा कार्यालयमा कामकाज मनपर्दी रुपमा गर्दै आएको विरोधमा उपमेयर रेणु झाको नेतृत्वको टोलीले कार्यालयमा तोडफोड गरेका छन्।

अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारी शनिबार काम गरेको भन्दै सोधपुछ गर्न खोज्दा विवादले उग्ररुप लिएको प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिए।

यता कामको चापले गर्दा शनिबार पनि काम गर्नुपर्ने बाध्यता रहेको नगरप्रमुख सुनिलकुमार यादवलाई उद्धृत गर्दै प्रहरी निरीक्षक आचार्यले बताएका थिए।

सोही क्रममा उपप्रमुख पक्षको राजपा नेता ज्ञानु झा घाइते समेत भएका छन्। उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।

असार मसान्तको समयमा पनि कार्यालयमा नियमितरूपमा कर्मचारी नआएपछि नगरपालिकामा योजनाअनुसार कामकाज समय मै सम्पन्न हुन नसकेको स्थानीयवासीले प्रतिक्रिया दिएका छन्।

भ्रष्टाचार गरेको साबित भए राजिनामा गर्न तयार छुः मेयर यादव
औरही नगरपालिकाका नगर प्रमुख सुनिल कुमार यादवले आफूले कुनै किसिमको भ्रष्टाचार नगरेको दाबी गरेका छन्। उनले आफूले भ्रष्टाचार गरेको साबित भए पदबाट राजिनामा गर्न तयार रहेको बताए।

उनले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आफूले भ्रष्टाचार गरेको प्रमाणित भए जुनसुकै दण्ड भोग्न तयार रहेको बताए।

गत शनिबार साँझ भएको तोडफोड घटना बारे जानाकारी दिन नगर प्रमुख यादवले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उप मेयर रेणु झा नियमविपरीत उपभोक्ता समिति गठन गर्न खोज्दा आफूले रोके पछि विरुद्धमा गएको आरोप लगाए।

पत्रकारहरुले गरेको प्रश्नमा प्रश्नमा उनले भने, 'असार मसान्त चलि रहेको कारण बिदाको दिन पनि कार्यालय खोल्नु  पर्ने बाध्यता रहेको छ।’ उनले उप मेयर झा र उनि संगै आएको ज्ञानु  झासहित केही राजनीतिकर्मीले कार्यालयमा तोडफोड गर्नुको साथै महत्वपूर्ण फाइलहरु भएको ल्यापटप पनि लिएर गएको आरोप लगाए।

नगर प्रमुख यादवले उपमेयर झाले अनुगमन समितिको अर्थ नबुझेको कारण विवाद सृजना भएकी छन्। उनले भने, 'उपभोक्ताले मापदण्ड र सम्झौता अनुसार काम गरिसकेपछि उसको भुक्तानी रोक्ने अधिकार कोहीसँग छैन। गत वर्ष र चालु आर्थिक वर्षमा पनि उहाँलाई जहाँ कुरा मिल्यो त्यो ठाउँको योजनामा मात्रै अनुगन गर्ने गर्नु हुन्छ।’

उपमेयरले कुरा नबुझी अर्काको लहैलहैमा लागेर कार्यालयमा तोडफोडजस्ता घटना घटाएको आरोप लगाए।

नगरप्रमुख यादवले भने, 'भ्रष्टाचार गरेको छु भनेर उपमेयरले प्रमाणित गर्नुभयो भने नैतिकताको आधारमा मेयर पदबाट राजिनामा दिन तयार छु। तर यसरी  गुण्डागर्दी शैलीमा कार्यालयमा तोडफोड गर्न मिल्छ? कहिँ  पनि मिल्दैंन। यो घटनाका दोषीहरुमाथि कानुनी कार्यबाही को लागि सम्बन्धित निकायसँग माग गरेको छु।’

मेयर र उपमेयरबीचको विवादले औरहीको पनि नगरसभा प्रभावित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्