प्रहरी हवल्दारले आफ्नै काकीलाई बोक्सी भन्दै कुटपिट गरे

प्रहरी हवल्दारले आफ्नै काकीलाई बोक्सी भन्दै कुटपिट गरे

राजविराज,१६ असार । नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत कमलदेव यादवले आफ्नै काकीलाई बोक्सीको आरोप लगाउँदै पटक पटक कुटपिट गर्दै आइरहेको पीडितद्वारा आरोप लगाइएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढा निवासी ५३ वर्षिया जशोधियादेवी यादवले आफ्नै भतिजा हवल्दार कमलदेवले पटक पटक बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै आएको आरोप लगाएकी हुन् ।

पीडित जशोधियादेवीले सोमबार नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलनको अयोजना गरि पछिल्लो पटक भतिजा कमलदेवले गत शनिबार र बिहीबार कुटपिट गरेको बताईन् । सो दिन कुटपिट गर्दा माइती आएकी जशोधियादेवीकी छोरी सरस्वती समेत कुटिएकी छिन् ।

उनी आमालाई जोगाउने क्रममा कमलदेवबाट कुटिएकी हुन् । पत्रकार सम्मेलनमा जशोधियादेवीले भनिन, “पछिल्लो पटक शनिबार मलाई कुटपिट गरिरहँदा छोरीले बचाउन खोज्दा भतिजाले छोरीलाई समेत कुटपिट ग¥यो, कुटपिटबाट छोरी गम्भिर घाइते भईन्, उनलाई स्थानिय अस्पतालदेखी बिराटनगरसम्म उपचार गराउनु प¥यो ।”

कुटपिटको विषयमा वडा कार्यालय तथा जिल्ला प्रहरी कार्यालयसमक्ष पुग्दा कतैबाट उनीमाथी कारवाहीको पहल हुन नसकेको उनको भनाई छ । बोक्सीको आरोप लगाएर कुटपिट गर्ने हवल्दार यादवमाथी प्रहरीमा निवेदन दर्ता गर्न खोज्दा नमानेको समेत उनको आरोप छ ।

उनले भनिन्, “मलाई कुट्दा म सहेर बस्थे तर, पछिल्लो पटक मेरो छोरी समेतलाई कुटपिट गर्दै घाइते बनाएपछि म सहन सकिन्न् अनि वडा कार्यालय, स्थानिय प्रहरी तथा जिल्ला प्रहरी कार्यालय सम्म पुग्दा कतै न्याय नपाएपछि बाध्य भई संचारकर्मी माझ आउनु प¥यो ।”

जशोधियादेवीको एक छोरा र बुहारी रहेकोमा हाल उनी बुहारीसँगै बस्दै आएकी छिन । छोरा भने बैदेशिक रोजगारमा छन् । काठमाडौंमा कार्यरत प्रहरी हवल्दार कमलदेव भने बिदामा गाउँमा आएको बेला बोक्सी भनेर कुटपिट गर्दै आएको जशोधियादेवीको आरोप छ ।

यसबारे जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता भावेश रिमालले घटना बारे बास्तविकता बुझ्न दुबै पक्षलाई बोलाइएको जानकारी दिदै दोषि पाइएकालाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्