एसीसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट : नेपालले सिंगापुरसामु ३२७ रनको विशाल लक्ष्य प्रस्तुत

एसीसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट : नेपालले सिंगापुरसामु ३२७ रनको विशाल लक्ष्य प्रस्तुत

काठमाडौं, असार २० । मलेसियामा जारी एसीसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरसामु ३२७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४ विकेटको क्षतिमा ३२६ रन बनाएको हो । प्रारम्भिक ब्याट्सम्यान रित गौतमले शतकीय पारी खेल्दा नेपालले स्कोर बोर्डमा ३०० रन कटाउन सफल भएको हो । गौतमले अविजित रहँदै ११५ रन बनाए ।

अर्का प्रारम्भिक ब्याट्सम्यान खडकबहादुर बोहराले ९० रन बनाए । पवन सर्राफ भने अर्धशतक बनाउनबाट चुके । उनी ४५ रन बनाएर बाहिरिएका थिए ।

 

पहिलो विकेटका लागि रित गौतम र पवन सर्राफले ९२ रनको साझेदारी गरेका थिए । १५ औं ओभरको चौथो बलमा सर्राफ बाहिरिँदा स्कोर बोर्डमा नेपालले ९२ रन जोडिसकेको थियो ।

त्यस्तै, दोस्रो विकेटका लागि रित गौतम र खडकबहादुर बोहराबीच १३१ रनको साझेदारी भएपछि नेपाल बलियो अवस्थामा पुगेको हो । दोस्रो विकेटका रुपमा खडकबहादुर ४० औं ओभरको पहिलो बलमा बाहिरिँदा नेपालले २२३ रन बनाएको थियो ।

तेस्रो र चौथो विकेट नेपालले चाँडै गुमायो । ४० औं ओभरकै पाँचौं बलमा विशाल विक्रम केसी व्यक्तिगत एक रन बनाएको अवस्थामा बाहिरिए भने रोहिकुमार पौडेल ४३ औं ओभरको अन्तिम बलमा ७ रन बनाएको अवस्थामा बाहिरिए ।

पाँचौं विकेटका रुपमा रित गौतम र कुशल मल्लबीच गतिलो साझेदारी भएको थियो । दुवैबीच ४२ बलमा ८२ रनको साझेदारी भयो ।

मल्लले विस्फोटक ब्याटिङ गर्दै २३ बलमै अर्धशतक प्रहार गरे । उनले चार चौका र पाँच छक्का प्रहार गरे । उनी ५१ रनमा अविजित रहे ।

 

पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । सिंगापुरविरुद्धको जितले साविक विजेता नेपाललाई समूह विजेता बनाउनेछ ।

 

उता, सिंगापुर पनि नेपाललाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा छ । उसले पनि पहिलो खेलमा चीनलाई पराजित गरेको थियो ।

समूह ‘ए’मा एक–एक जित हात पारेका नेपाल र सिंगापुरको समान २–२ अंक भए पनि रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा रहँदा सिंगापुर दोस्रो स्थानमा छ । चीन भने अंकविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्