भारतबाट एक लाखको हाराहारीमा बोलबम तीर्थयात्री नेपाल आउदै

भारतबाट एक लाखको हाराहारीमा बोलबम तीर्थयात्री नेपाल आउदै

काठमाडौँ, असार २८ गते । भारतको उडिसास्थित वैद्यनाथ धामबाट एक लाखको हाराहारीमा बोलबम तीर्थयात्रीको काठमाडौँ आगमन हुँदैछ । महादेवको प्रिय महिना साउन र यस महिनाको सोमबार पशुपतिनाथमा जल अर्पण गर्न यी यात्री काठमाडौँ आउने तयारीमा रहेको ओम बोलबम कावँरिया सङ्घका अध्यक्ष सुनिल ठाकुर (बारा) ले जानकारी दिनुभयो ।
यी यात्री र नेपाली भक्तजनको मन्दिरमा व्यवस्थापनका लागि साउन सुरु हुनु एक साता अघिदेखि नै पशुपति मन्दिर परिसरमा व्यारिकेट, घुम्ती शौचालयलगायतको व्यवस्थापन कार्य सुरु गरिएको छ ।

अत्याधुनिक घुम्ती शौचालय एभरेस्ट बैङ्कले पशुपति विकास कोषलाई उपलब्ध गराएको छ । बोलबम यात्रीको विषयमा कोषले काठमाडौँ उपत्यकामा रहेका बोलबम यात्रा आयोजकलाई छलफलका लागि आमन्त्रण गरिसकेको छ ।
कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार यो पल्ट बोलबम यात्रीको आगमन धेरै हुने जानकारी प्राप्त भएको छ । यसका लागि मन्दिरमा आवश्यक अस्थायी निर्माणलगायतका कार्य थालिएको छ । बोलबम यात्री पैदलै सुन्दरीजल पुगेर जल ल्याई पशुपतिनाथमा अर्पण गरी यो यात्रा मनाउने गर्दै आएका छन् । यो पल्ट साउन महिनामा ६, १३, २० र २७ गते गरी चारवटा सोमबार परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्