बाढीले रेलको लिक बगायो

बाढीले रेलको लिक बगायो

काठमाडौं, ३० असार ।
मुुलुकभरि बिहीबारबाट सुरु भएको अबिरल वर्षाका कारण सञ्चालनको अन्तिम तयारीमा रहेको जयनगर–जनकपुर–बर्दिवास रेलमार्गमा क्षति पुगेको छ । वर्षाका कारण रेलको लिक बगाउनुका साथै विभिन्न ठाउँमा रेलमार्गको ‘बेस’समेत बगाएको रेल विभागले जनाएको छ ।
रेल विभागका महानिर्देशक बलराम मिश्रले भारतको जयनगर–जनकपुर रेलमार्गमा पर्ने इनर्वा स्टेसन नजिकमा कमला नदीको बाढीले रेल सञ्चालनका लागि बिछ्याइएको करिब दुई सय मिटर रेलवे लिक नै बगाएको जानकारी दिनुभयो ।
सञ्चालनका लागि भार परीक्षणसमेत गरिसकिएको रेलमार्गको विभिन्न खण्डमा रेलको लिकमाथि भएर पानी बगिरहेको बताउँदै उहाँले रेलवे लिकमुनिको ‘बेस’समेत बगाएको जानकारी दिनुभयो । अहिलेसम्मको जानकारी अनुसार करिब आधा किलोमिटर रेलवे लिकको ‘बेस’ बगाएको र करिब चार सय मिटर रेलवे लिकमाथि पानी बगिरहेको जानकारी उहाँले दिनुभयो ।
त्यसैगरी, जनकपुर रेलवे स्टेसनसमेत डुबानमा परेको छ । वर्षाले रेलवे कर्मचारीहरूको आवासका लागि निर्माण गरिएको घरहरू, विभिन्न रेलवे स्टेसनहरू डुबानमा परेका छन् । क्षतिको थप विवरण आउने क्रममा रहेको महानिर्देशक मिश्रले जानकारी दिनुभएको छ । प्रतिकूल मौसमका कारण सबै क्षतिको विवरण सङ्कलन गर्न समस्या भएको कर्मचारीहरूले बताउनुभएको छ । रेलवे परियोजनाका प्रमुख विनोदकुमार ओझाले जनकपुरदेखि पूर्वतर्फभन्दा पश्चिम बढी क्षति भएको बताउनुभयो ।
भारतले निर्माण गर्ने
भारतीय सरकारको सम्पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको सो रेलमार्गमा बाढीका कारण भएका क्षतिको निर्माण भारत सरकारले नै गर्ने जानकारी महानिर्देशक मिश्रले दिनुभयो । उहाँले बाढी समाप्त भएको एक महिनाभित्रमा नै ‘बेस’ बनाएर पुनः लिक बिछ्याउन सकिने बताउनुभएको छ ।
पाँच वर्षअघि बन्द भएको जयनगर–जनकपुर रेल सेवा पुनः सञ्चालनमा आउन लागेको छ । सन् १९३७ देखि सञ्चालनमा आएको जनकपुर–जयनगर रेल सेवा २०७१ सालदेखि बन्द भएको थियो । गोरखापत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्