पाँचखाल नगरपालिकामा लिच्छविकालीन संरचनाको भग्नावशेष सामग्री भेटियो

पाँचखाल नगरपालिकामा लिच्छविकालीन संरचनाको भग्नावशेष सामग्री भेटियो

मधुसुधन तिमल्सिना,

पाँचखाल (काभे्र) असार ३१ गते ।

पाँचखाल नगरपालिकामा लिच्छविकालीन संरचनाको भग्नावशेष सामग्री भेटिएको छ । पाँचखाल नगरपालिका वडा नम्वर ७ को श्रीरामपाटीमा पुरातत्व विभागको टोलीले १५ दिन सम्म सम्पदाको अध्ययन तथा उत्खननका क्रममा लिच्छविकालीन संरचनाको भग्नावशेष भेटिएको जनाएको छ ।

सो टोलीले यही जेठ १५ बाट करिब दुई हप्ता श्रीरामपाटीमा स्थानीयद्वारा ऐतिहासिक दरबार क्षेत्र रहेको भनिएको स्थानमा उत्खनन कार्य गरेको थियो । विभागले उत्खननमा भेटिएका सामग्री परीक्षणका लागि लगेको स्थानीय एवम् अभियन्ता श्रीकृष्ण धिमालले जानकारी दिनुभयो । उहाँले स्थानीय बूढापाकाले पाँचखाल क्षेत्रमा मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्गेधारा र रानीपोखरी क्षेत्र करीब १२ रोपनीमा फैलिएको जस्ता विषय भन्दै आएकाले त्यस अनुसार खोजी नीति गरेको बताउनुभयो । स्थानीयले खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँटा र सिक्का (मानाङ्क), घरको जग, भाँडाका टुक्रा फेला पारेपछि पुरातत्व विभागसँग सम्पदा संरक्षणको माग राखेका हौँ, धिमालले भन्नुभयो ।

पुरातत्व विभागका अधिकृत विष्णुप्रसाद पाठकले पुरानो दरबार क्षेत्र रहेको भनिएको स्थानमा २४ इञ्चको ढुङ्गाको गारो कोठा तथा बाहिरी भागमा पर्खाल रहेको संरचना भेटिएकोे बताउनुभयो । करीब दुई साताको अवधिमा गरिएको उत्खनन/परीक्षणका क्रममा माटोका भाँडाका टुक्रा, मसला पिँध्ने ढुङ्गाको खल, शिवलिङ्ग, ढुङ्गेधारा, रानीपोखरी भनिएको स्थानमा जमीनमुनि पाको माटोको डुँडबाट पानी ल्याउन बनाइएको पाइप तथा केही चौडा आकारका इँटा भेटिएको उहाँले बताउनुभयो ।

वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यले भेटिएको संरचना र सामग्री लिच्छवीकालीन भएको बताउनुभयो । पुरातत्व विभागका अधिकृत विष्णुप्रसाद पाठकको नेतृत्वको टोलीमा वरिष्ठ पुरातत्व विज्ञ आचार्य तथा इञ्जिनियर लगायत छ जनाको टोलीले उक्त क्षेत्रको उत्खनन गरेको हो । पाँचखाल नगरपालिकाले पलाञ्चोक उपत्यका पुरातात्तिक खोज तथा संरक्षण समिति बनाएर अध्ययन थालेको छ । पाँचखाल नगरपालिका प्रमुख महेश खरेल अध्यक्ष र समितिका सदस्यसचिवमा श्रीकृष्ण धिमाल हुनुहुन्छ ।

स्थानीयका अनुसार १४६२ मा पलाञ्चोक उपत्यकामा शक्ति सिंहले राज्य सञ्चालन गरेको कथन पाइन्छ । शक्ति सिंहले पलाञ्चोकमा स्वतन्त्र किसिमले शासन गरेका थिए । पुरातत्व विज्ञ आचार्यसहितको टोलीद्वारा गत साल चैतमा प्रारम्भिक अध्ययन गरिएको थियो । त्यस क्रममा एउटा सिक्का भेटिएको थियो जसमा एक पाटामा ‘भोगिनी’ लेखिएको छ भने अर्को पाटामा सिंहको चित्र रहेको छ । विज्ञ आचार्यका अनुसार भोगिनी पाली भाषा हो । आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानमा भेटिएका सबै सामग्री पनि लिच्छवीकालीन हुन् ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले पाँचखालमा भेटिएका प्राचीन, ऐतिहासिक अभिलेख र भग्नावशेषको प्रतिवेदन तयार गर्ने काम भइरहेको बताउनुभयो । पाँचखालमा प्राचिन, ऐतिहासिक अभिलेख र भग्नावशेष भेटिएको हो तर यथार्थ कुरा प्रतिवेदन पछि मात्र बाहिर आउने छ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्