असोज ३ गतेदेखि गोरखापत्रले विराटनगरबाट प्रकाशन आरम्भ गर्ने

असोज ३ गतेदेखि गोरखापत्रले विराटनगरबाट प्रकाशन आरम्भ गर्ने

विराटनगर, १ साउन । विराटनगरमा निर्माण भएको गोरखापत्र संस्थानको प्रादेशिक कार्यालय भवन मंगलबार संस्थानलाई हस्तान्तरण गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको संघीय आयोजना कार्यान्वयन इकाईले निर्माण गरेको भवन मंगलबार एक समारोहकाबीच हस्तान्तरण भएको हो ।

कुल सात करोड, ४७ लाख ६ हजार एकसय २५ रुपियाँको लागतमा निर्माण भएको भवन संघीय आयोजना कार्यान्वयन इकाईका प्रमुख प्रदिपकुमार सिंह र निर्माण कम्पनी लामा खुस्बु जे.भिले संस्थानका प्रशासकीय प्रमुख मोहमद जैनउल हकलाई हस्तान्तरण गर्नुभएको हो । प्रदेश १ को राजधानी विराटनगरमा निर्माण भएको प्रादेशिक कार्यालय परिसरमा प्रशासनिक गृह, समाचार कक्ष, आवास, चमेना गृह, प्रेस घर, गोदाम घर र सुरक्षा घरसमेत छन् ।

भवन हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले आगामी असोज ३ गते संविधान दिवशको दिनदेखि विराटनगर प्रकाशन आरम्भ गर्ने जानकारी दिनुभयो । उहाँले एकसय १९ वर्षको लिखित इतिहास भएको गोरखापत्र दैनिक विराटनगर प्रकाशनको अन्तिम तयारीमा आइपुग्दा आफ्ना पखेटा फिँजाएको बताउनुभयो । ‘विराटनगरमा भवन हस्तान्तरणसम्म आइपुग्दा हामीले आफ्ना पखेटा फिँजाएका छौं,’ अध्यक्ष भण्डारीले भन्नुभयो ‘विराटनगरबाट प्रकाशन आरम्भ लगतै कोहलपुर प्रकाशनको तयारी गर्दै हामी चरा बनेर उड्ने छौं ।’

संघीयता र लोकतन्त्रको अवस्थामा गोरखापत्र पुरानै अवस्थामा नभई परिवर्तन र सुधारसहित अघि बढ्नुपर्ने जिम्मेवारी पुरा गर्न सम्पूर्ण टिम क्रियाशिल रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । ‘जतिसुकै राम्रा सामग्री प्रकाशन भए पनि समयमा पाठक समक्ष पुगेन भने त्यसको खास अर्थ हुँदैन,’ उहाँले भन्नुभयो ‘अब गोरखापत्र प्रदेश १ र २ का पाठकहरुले चियाको चुस्कीसँगै पढ्न पाउनेछन् र हरेक गाउँसम्म पुग्नेछ ।’
अध्यक्ष भण्डारीले गोरखापत्र समुन्द्रबीचको टापु नभएको बरु मुलुकको संरचनाको महत्वपूर्ण अवयव भएको उल्लेख गर्नुभयो ।

विराटनगर प्रकाशनका लागि प्रेस तयारी अवस्थामा रहेको र प्रतिघण्टा ४० हजार प्रत्रिका छापेर पट्याएर दिने मेसिनको क्षमता रहेको उहाँले जानकारी दिनुभयो । अहिले प्रेसलाई दिनको आधा घण्टा मात्र काम दिन सकिने अवस्था रहेको भन्दै २२ घण्टा काम गर्ने गरी व्यवस्थापनले योजना बनाउन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले पाठकहरुको हातमा पत्रिका प्रकाशन गरेर समयमै पु¥याएकोे दिन मात्र भवन हस्तान्तरणको अर्थ हुने भन्दै दवाव र चुनौतीको दिन सूरु भएको बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सरकारले सञ्चालन गरेका संस्थाहरु दिनप्रतिदिन धराशायी बन्दै जाने अवस्था अन्त्य गर्न जरुरी भएको बताउनुभयो । उहाँले गोरखापत्रको प्रादेशिक प्रकाशनको तयारीबाट आफु उत्साहित भएको भन्दै पूर्णरुपमा सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले आम नागरिक सुसूचित हुँदा राष्ट्र निर्माणमा सहयोग पुग्ने भन्दै सबै जाति, भाषा,कला र संस्कृतीको जगेर्ना गर्न गोरखापत्रले योगदान गरेको भन्दै प्रशंशा गर्नुभयो ।
गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठले गोरखापत्र इतिहास मात्र नभएर मनको पत्र र विश्वासको पत्र भएको बताउनुभयो । उहाँले त्यो विश्वासलाई कायम राख्दै हरेकको मनमा बस्ने बनाइरहने चुनौतिपूर्ण जिम्मेवारी आफुहरुले लिएको बताउनुभयो ।

उहाँले असोज ३ गतेपछि प्रदेश १ र २ का हरेकको हातमा पत्रिका पु¥याउने लक्ष्यमा आफुहरु क्रियाशिल भइरहेको पनि बताउनुभयो ।
कार्यक्रममा शहरी विकास संघीय आयोजना कार्यान्वयन इकाईका प्रमुख प्रदिपकुमार सिंह, निर्माण कम्पनीका तर्फबाट दिपक पौडेल, नेपाल विज्ञापन संघ प्रदेश १ का अध्यक्ष पवनविवश अधिकारी, गोरखापत्र दैनिक प्रदेश १ का संयोजक महेन्द्र विष्ट लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

यसैबीच, प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले गोरखापत्र दैनिकलाई थप विश्वसनीय बनाउँदै अघि बढाउनु पर्ने सुझाव दिनुभएको छ ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीको नेतृत्वमा सल्लाहकार र प्रधान सम्पादकसमेतको टोलीसँगको भेटमा उहाँले पहिलेको तुलनामा गोरखापत्रमा उल्लेख्य सुधार आएको भन्दै प्रशंसा गर्नुभयो ।
गोरखापत्रले जनताका समस्याहरुलाई सरकारसम्म ल्याउने र सरकारले गरेका कामहरुको बारेमा जनतासम्म सूचना प्रवाह गर्ने कार्यको व्यवसायिक नेतृत्व गर्नुपर्ने उहाँले बताउनुभयो ।

सरकारको सहयोगमा संचालन भएका संस्थाहरुको विकास र प्रभावकारिताका निम्ति सरकार सदैव जिम्मेवार बन्नुपर्ने भन्दै उहाँले प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।
‘सरकारका सूचनाहरुबाट आर्जन गरेर सरकारकै आलोचना गर्न सक्षम निजी मिडिया तयार पार्ने सरकारले आफ्नै माध्यमलाई सहयोग नगर्ने भन्ने हुनै सक्दैन,’ मन्त्री आङ्बोले भन्नुभयो ‘ प्रदेश सरकारबाट के सहयोग खोज्नु भएको हो ठोस प्रस्ताव ल्याउनुस्, हामी सहयोग गर्न तयार छौं ।’

प्रदेश र स्थानीय सरकारहरुले वार्षिक करोडौंको विज्ञापन प्रकाशन गरिरहेको अवस्थामा गोरखापत्र सञ्चालनका लागि ठूलो समस्या नहुने उहाँले बताउनभुयो । त्यस भन्दा अघि पत्रिकाले जनविश्वास आर्जन गर्नुपर्ने र सबैको पहुँचमा पु¥याउनु पर्ने तर्फ भने विशेष जोड दिन आग्रह गर्नुभयो ।

छलफलमा संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले पाठककाबीच पत्रिकाको पहुँच विस्तार गर्दै सशक्तरुपमा अघि बढ्ने योजनामा प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले सकारात्मक भन्दा नकारात्मक विषयमा बढी समाचार बन्ने गरेको सन्दर्भमा गोरखापत्रले सकारात्मक विषयलाई प्राथमिकता दिने गरेको बताउनुभयो । छलफलमा विज्ञ सल्लाहकार टीकाराम राईले प्रादेशिक प्रकाशनको तयारी भइरहेको भन्दै सबै प्रकारको सहयोगको अपेक्षा गरेको बताउनुभएको थियो । गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्