सावधान ! तराईमा विषालु सर्पको बिगबिगी , जोगिएर बस्नु पर्ने अवस्था

सावधान ! तराईमा विषालु सर्पको बिगबिगी , जोगिएर बस्नु पर्ने अवस्था

चाँदनी हमाल/सरोज ढुङ्गेल

काठमाडौँ, साउन ३ गते । नेपालको तराई भेगमा बाढी, डुबान र पहाडमा पहिरोले यतिबेला जनजीवन अस्तव्यस्त छ । मानिससँगै तराईमा यतिबेला विषालु सर्प पनि ज्यान जोगाउन ओभानो ठाउँ खोजिरहेका सप्तरी तिलाठीका रामनारायण देव बताउनुहुन्छ ।
सर्पले मानिसलाई डस्ने क्रम तराईको डुबानग्रस्त क्षेत्रमा बढेको छ । सर्पको आहारा मानिस होइन तर सर्पका आहरा र बासस्थान मानिसको बासस्थान वरपर नै हुन्छ । यसले मानिसको बस्तीमा सर्पको पहुँच हुन्छ । विपद्का बेला अत्तालिएको सर्पले आफ्नो ज्यान जोगाउन मानिसलाई डस्ने क्रम बढी हुने भएकाले सचेत भएर जोगिनुपर्ने विज्ञहरूको सुझाव छ । सर्पको बिगबिगी बढेपछि प्रदेश २ का सबै अस्पताल र स्वास्थ्य चौकीमा सर्पले डसेको औषधिका माग गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभयो ।

करेत र गोमन अति विषालु
सर्पदंश विषयमा विद्यावारिधि गर्नुभएका सर्पविज्ञ देव पाण्डेले जमिनमा बस्ने सर्पले ओभानो ठाउँ मन पराउँछन् । “पानीमा बस्ने भए पनि श्वासप्रश्वास र आनन्दका लागि जमिनमा उत्रने गर्छन्,” उहाँले भन्नुभयो, “बाढीका बेला सर्प ज्यान जोगाउनकै लागि न्यानो क्षेत्रको बढी खोजी गर्छन् । ” अरू बेला पनि मानिसले अन्न, खेतीपाती घरमा भिœयाउने बेला सर्पको आवतजावत बढ्छ । “अन्न मनपराउने र किराफट्याङ्ग्रा मन पराउने मुसा, भ्यागुता लगायतका सर्पका आहरा घर, खेतमा बढी हुने भएकाले सर्प नजानीकनै हामी छेउ आइपुग्छन्,” उहाँ थप्नुहन्छ, “तराईमा अझ बढी कृषि कार्य र सुहाउँदो मौसम भएकाले बढी हुन्छ । ”
असार साउनमा महिना अत्यधिक सर्पको बिगबिगी हुने महिना हो । नेपालमा ९० प्रजातिका सर्प पाइन्छ । पाण्डेले आफ्नो अध्ययनकै क्रममा ७० प्रजाति पहिचान गरिसक्नुभएको छ । नेपालमा पाइनेमध्ये १८ प्रजातिको सर्प अत्यधिक विषालु रहेको पाण्डेले बताउनुभयो । “सबैभन्दा विषालु सर्प गोमन र करेत हो,” उहाँले भन्नुभयो, “गोमनभित्र गोमन र राजगोमन दुई जाति छन् । ”
“करेत रातमा सक्रिय हुन्छ तर गोमन बिहानको झुल्के घामको समय र गोधुली साँझमा बढी डुल्छ”, उहाँले सर्पको आनीबानी बताउनुभयो, “करेतले टोकेको दुख्दैन, ढिला थाहा हुन्छ तर गोमनले टोक्नुअघि फना उठाएर सतर्क गराउँछ । ”

जोगिनुको विकल्प छैन
विपद्को बेला सर्पको बिगबिगीमा जोगिएर बस्नुको विकल्प नहुने विज्ञहरू बताउँछन् । अनाज राख्दा घरदेखि अलिक पर राख्ने, मुसाको दुलो टाल्ने, घरको विछ्यौना जमिनबाट माथि खाट प्रयोग गरेर राख्ने, झुलमा दिनहुँ सरसफाइ गरेर सुत्ने र सुत्केरीलाई विशेष सुरक्षाका साथ राख्नुपर्ने पाण्डे बताउनुहुन्छ ।
खेतबारी, वनजङ्गलमा काम गर्दा बुट तथा ग्लोब लाउने, झार भएको बाटो र अध्याँरोमा हिँड्दा लौराले हिर्काउँदै हिँड्दा सर्प भाग्ने र देखिने गर्छ । यसले डसाइबाट बचाउने पाण्डेको सुझाव छ ।
सर्प मानिसको शत्रु होइन । त्यसैले सर्प र मानिस दुवै बाँच्ने किसिमले जोगिनुपर्ने सर्प संरक्षक महेन्द्र कतिला बताउनुहुन्छ । “झ्याल ढोकामा जालीको प्रयोग गर्ने र सर्पले मन नपराउने गन्धको झोल प्रयोग गरी जोगिने प्रयास गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “तर करेत मानिसको तातो थाहा पाएरै भित्र पस्ने हुँदा चलमलाउँदा टोक्छ । त्यसपछि उपचारको विकल्प हुन्न । ”

औषधि पठाइयो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढी प्रभावित जिल्लामा औषधि पठाउन सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ‘स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई’ प्रमुख चूडामणि भण्डारीले बाढीबाट बढी प्रभावित भएका तराईका जिल्लाहरूमा औषधि पठाउन सुरु गरिसकेको जानकारी दिनुभयो । उहाँले दातृ निकायको सहयोगमा महोत्तरी, धनुषा, सिरहा, रौतहट, सर्लाहीमा औषधि पठाउने काम सुरु भइसेको जानकारी दिँदै बाढी प्रभावित क्षेत्रमा कुनै किसिमको प्रकोप नफैलियोस भनेर सतर्कता अपनाइएको बताउनुभयो ।
आपत्कालीन तथा विपद् व्यवस्थापन प्रमुख भण्डारीले झाडापखाला, ज्वरोलगायतका औषधि पठाएको जानकारी दिनुभयो ।
बाढीपछि तराईका जिल्लामा सर्पदंशका बिरामी बढेपछि सो क्षेत्रका लागि एक हजार एक सय ‘भाइल एन्टिस्नेक भेनम’ पठाएको छ । भण्डारीले बाढी र डुबानसँगै निस्किएका विषालु सर्पको टोकाइका कारण मानिसहरू अस्पतालमा आउन थालेपछि ११ सय भाइल एन्टी स्नेक भेनम औषधि पठाइसकेको जानकारी दिनुभयो । उहाँले प्रदेशमा समेत औषधि पर्याप्त भएको जानकारी दिनुभयो । उहाँले सर्पले टोकाइबाट हालसम्म कुनै व्यक्तिको पनि मृत्यु नभएको प्रष्ट पार्नुभयो ।
आपत्कालीन इकाईले औषधि नभएका स्थानमा युनिसेफ तथा विश्वस्वास्थ्य सङ्गठनको सहयोगमा औषधि, एन्टिस्नेक भेनम तथा स्वास्थ्य किटहरू पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्